Breaking News
७ दिनभित्र दर्ता अनुमती पत्र बुझाउन कन्सलटेन्सीलाई चितवन प्रशासनको निर्देशन,अटेर गरे कारवाहीको चेतावनी (विज्ञप्तिसहित)

चितवन, असार ८–
जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थालाई कक्षा सञ्चालनका लागि सम्बन्धित निकायबाट लिइएको अनुमती पत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । भाषा प्रशिक्षण गराउने संस्थाहरुले प्रचलित कानुनले तोकेका कार्यहरु बाहेक भिषा प्रोसेस, जब ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलेर नक्कली कागजात बनाउने जस्ता गुनासा आएकाले सात दिन भित्र सम्बन्धित निकायबाट लिइएको अनुमती पत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमले आइतबार एक सूचना जारीगर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा बागमती प्रदेश सरकार, सामाजिक विकाश मन्त्रालयबाट प्राप्त इजाजत अनुमती पत्र पेश गर्न निर्देशन दिनुभएको छ । व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा तोकिएको स्तरको भाषा प्रशिक्षकको कागजात र करार सम्झौता समेत उपलब्ध गराउन सूचनामा भनिएको छ ।
साथै परामर्शदताको विवरण, घरभाडा सम्झौता र दाखिला, विदेशी प्रशिक्षक रहेको भन्ने प्रचार प्रसार सामग्री समेत रहेकोमा श्रम स्वीकृत, राहदानी र भिषा म्याद भएको कागजातहरु उपलब्ध गराउन भनिएको छ । शाखा सञ्चालनको अनुमती लिएको भए सो सम्बन्धी अनुमतीपत्र समेत माग गरिएको छ । तोकिएको समयमा कागजात उपलब्ध नगराउन वा मापदण्ड पुरा गरेको नपाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।