चितवन विशेष
सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्योः बरिष्ठ उपाध्यक्ष आचार्य

भरतपुर,असार १-
पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाउनुभएको छ । अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरु सम्बन्धमा सुचना तथा सञ्चार मन्त्रालयले भरतपुरमा आइतबार आयोजना गरेको अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उहाँले मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको प्रष्ट भएको बताउनुभयो । ‘युटुब च्यानल दर्ता छैन भन्ने नाममा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न पाइँदैन,उहाँले भन्नुभयो,अहिले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयक मिडिया मैत्री छैन ।’ यस विधेयक नेपाल पत्रकार महासंघलाई स्वीकार्य नभएको उहाँले बताउनुभयो । आचार्यले स्वरोजगारमूलक मिडियाहरु समस्यामा रहेको भन्दै उनिहरुको स्थायित्वका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
सुचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले अनलाइन मिडिया र युट्युबलाई व्यवस्थित गर्न सबै निकायहरुसंग छलफल गरी सुझाबहरु संकलन गरिरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आइरहेका नकरात्मक बिषयवस्तुहरुलाई नियन्त्रण गर्दै व्यवस्थित गर्न सबैको ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सुचनाले आफ्नो विचारलाई सत्य निष्पक्ष बनाउँदै समाज परिवर्तन गर्नतर्फ अगाडि बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले सत्य,तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको भुमिका रहेको भन्दै राज्यका निकायले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारीले मिडिया आचारसंहिता र काउन्सिलको भूमिका बारे जानकारी प्रदान गर्नुभएको थियो । सो अवसरमा पत्रकारहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाको समन्वयमा भएको कार्यक्रममा शाखा अध्यक्ष बसन्त पराजुलीले जिल्लामा पहिलोपटक मन्त्रालयको उपस्थितिमा अनलाइन मिडिया र युटुवका बारेमा छलफल र अन्तरक्रिया गरिएको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो ।






















