चितवन विशेष
जंक आर्ट प्रतियोगितामा सनराईज स्कुल प्रथम

चितवन, जेठ २३–
विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘बेटर चितवन’ र ग्रीनल्याण्ड पब्लिक स्कुलको संयुक्त आयोजनामा सम्पन्न अन्तर विद्यालय जंक आर्ट प्रतियोगितामा सनराईज इङलिस स्कुल, भरतपुर–४ का विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् ।
१७ विद्यालयका ५० विद्यार्थीहरू सहभागि उक्त प्रतियोगितामा सनराईज इङलिस स्कुलका विद्यार्थी काव्या आचार्य, कृसा गुरुङ्ग र आरोन शर्मा कंडेलको टोलीले पहिलो स्थान प्राप्त गरेका हुन् । दोस्रो स्थान सिद्धि विनायक स्कुल, कालीका–६ खोलेसिमलका विद्यार्थी रिदम अधिकारी, बविन सापकोटा र अस्मिता अधिकारीको समूहले प्राप्त गरेका छन् । तेस्रो स्थान स्टेप बाई स्टेप इङलिस स्कुल, भरतपुर–९ का विद्यार्थी रिकु कुमारी पन्डित र काव्या ढकालले जितेका छन्।
कार्यक्रममा इन्जिनियर सागर कार्की, प्रशिक्षक निशा तामाङ र वातावरण अभियान्ता भोज नारायण कँडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता वातावरणीय चेतना अभिवृद्धि गर्ने, प्लास्टिकको उचित व्यवस्थापन गर्न सिर्जनात्मक अभ्यासको विकास गर्ने र फोहोरबाट मोहोर अवधारणाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्रधानाध्यापक इन्दिरा पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रमको संयोजन बेटर चितवनका अभियान्ता शुवर्ण घिमिरेले गर्नुभएको थियो ।
























