Breaking News
जथाभावी फोहोरले नारायणी नदीको अस्तित्व नै संकटमा पर्ने चेतावनी

चितवन, जेठ ४-
नारायणी नदीको अस्तित्व नै संकटमा पर्दै गएको एक अध्ययनले संकेत गरेको छ । ‘नदीसँगै हामी अभियान’ मार्फत देवघाटधाम क्षेत्रदेखि गोलाघाटसम्मको आठ स्थानमा गरिएको अध्ययनले नदीमा फालिने जथाभावी फोहोरका कारण नदीको अस्तित्व नै संकटमा पर्दै गएको संकेत गरेको हो ।
नारायणी नदी किनारमा गरिएको फोहोर नक्साङ्कन र लेखा परीक्षणले क्षेत्रीय फोहोर व्यवस्थापनमा गम्भीर चुनौतीहरु देखिएको बेटर चितवन र नदीसँगै हामी अभियानका फोहोर लेखापरीक्षक इन्जिनियर सागर कार्कीले जानकारी दिए ।
‘प्लाष्टिक, कपडा, सिसा, औषधिजन्य र जैविक लगायतका फोहोर मुख्य प्रदुषकका रुपमा देखा परेका छन्,’ आइतबार भरतपुरमा गरिएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कार्कीले भने ‘फोहोरका कारण नदीको स्वास्थ्य र आसपासको पारिस्थितिकी तन्त्रमा गहिरो असर पारेको छ।’ अध्ययनको क्रममा नारायणी नदीमा फोहोरको संरचना, घनत्व र प्रदूषणको मापन गरिएको थियो । त्यसको क्रममा नगरवन क्षेत्रमा प्लाष्टिक प्रदुषणको गम्भीर प्रभावका कारण पारिस्थितिकीय तन्त्रमा असर पारेको देखिएको उनले बताए । उनका अनुसार धार्मिक स्थल, पर्यटकीय र पार्क क्षेत्रको बढी मात्रामा प्रभावित रहेको छ । प्लाष्टिक जन्य र कपडा जन्य फोहोरमा देवघाट क्षेत्र बढी प्रभावित रहेको छ । अध्ययन टोलीले ७ स्थानमा प्रशोधन नगरि सिँधै नदी किनारमा ढल मिसाएको फेला पारेको छ ।
नदीसँगै हामी अभियान मार्फत गत कात्तिक महिनामा नारायणी नदीको देवघाटधम, जोरकुशुम पार्क, नारायणी नदी किनार, नारायणगढको नदीकिनार विद्यालय पछाडिको भाग, नगरवन, भगेरिथान र गोलाघाट क्षेत्रमा अध्ययन गरिएको थियो । यस क्रममा नगरवन क्षेत्रमा २२, शिवघाटमा १९, नारायणी नदी किनारमा १७, गोलाघाटमा १६ र देवघाटधाममा १५ प्रतिशत फोहोरको घनत्व विश्लेषण गरिएको इन्जिनियर कार्कीले बताए । नारायणी नदी किनारको प्रर्दशनी क्षेत्रले फोहोरको उच्च घनत्व योगदान गरेको छ । धार्मिक कारण पनि नदी प्रदु्षण बढ्दै गएको अध्ययन टोलीको निष्कर्ष निकालेको छ ।

नदीमा सबैभन्दा बढी ४२ प्रतिशत प्लास्टिक जन्य फोहोर देखिएको छ । त्यसपछि कपडाजन्य, सिसाजन्य, जैविक फोहोर र डायपर प्याडजन्य फोहोर नदीमा फालिएको अध्ययन कर्ता आकृति सुवेदीले जानकारी दिइन् । देवघाटधाममा कपडा जन्य फोहोर बढी रहेको देखिएको छ । त्यस्तै भंगेरीथान शिवघाटमा पर्यटकहरुले एकल प्रयोगमा आउने फोहोरहरु बिस्कुट, चाउचाउ, चिप्सका खोलहरु जथाभावि फालिएको भेटिएको उनले बताइन् । त्यहाँ मादक पदार्थ सेवन गर्नेहरुले सिसाको बोतल र सिरिंजहरु फ्याक्ने गरेको देखिएको छ । तीर्थस्थल घाटक्षेत्र, पर्यटकीय र नदी किनारमा रंगअनुसार छुट्टिने फोहोर संकलन डस्विन अनिवार्य रुपमा राख्नुपर्ने अवस्था देखिएको सुवेदीले बताइन् । ‘ढल र मलमूत्र नदीमा मिसाउने कार्यलाई तुरुन्त रोक्न नीति निर्माण गरी कडाइका साथ कार्यान्वन व्यवस्थापन गर्नुपर्ने, नदीमा फोहोर डम्प गर्ने कार्य पुर्ण रुपमा बन्द गरि सुरक्षीत र उपयुक्त स्थानमा फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’–उनले भनिन् ।
चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थानीय तहले नारायणी किनारमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण नदीको अवस्था बिग्रदै गएको सहमती नेपालका परियोजना संयोजक खेमराज खनालले जानकारी दिए । नदी स्वस्थ राख्नका लागि स्थानीय तहहरुले नीति बनाएर नै लाग्नुपर्ने उनको भनाई छ । स्थानीय सरकार, नागरिक समाज, धार्मिक नेतृत्व, पर्यटक, व्यवसायी, विद्यार्थी र आम जनताहरु नदीको भविष्यलाई बचाउन लाग्नुपर्ने उनले बताए । नदीसँगै हामी अभियानमा एकल महिला पैरवी मञ्च, लायन्स क्लव अफ गैँडाकोट, एसडिआरसी गैँडाकोट, विजय एफ.एम, हेचर नेपाल, सिद्धान्त कलेज, देवघाट क्षेत्र विकास समिति, सफा उर्जा लगायतका संघसंस्थाहरु आवद्ध रहेका छन् ।
























