Breaking News
भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा चितवनका विश्व पौडेलको नाम प्रस्ताव गर्ने

चितवन,बैशाख २८-
लामो समयदेखि विवादित बनाइएको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । अहिले पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो ।
पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । चितवन घर भएका पौडेल संघिय निर्वाचनमा चितवन क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेका थिए ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए ।
“ओलीजीले गभर्नरमा हामीलाई धोका दिनुहुन्न,” देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “सकेसम्म भट्टलाई बनाउने नभए, अर्को व्यक्तिलाई सिफारिस गर्नुपर्छ ।” कांग्रेसले यसअघि नबिल बैंकका तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस गर्नेबारेमा पनि छलफल गरेको थियो ।























