चितवन विशेष
सौराहा फूड फेस्टिबलको आयव्यय सार्वजनिक

सौराहा,बैशाख २१-
१९औं सौराहा फूड फेस्टिबलको आइतबार आयव्यय सार्वजनिक गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान)सौराहाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आयव्याय सार्वजनिक गरेको हो ।
सौराहा सहित चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले २०८० माघ २९ गते देखि फागुन ३ गते सम्म १९औं संस्करणको सौराहा फुड फेस्टिबल आयोजना गरिएको थियो । चितवनमा पर्यटक भित्र्याउन गरिएको फुड फेस्टिबलमा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको छ । फेष्टिबलमा ६८ लाख ३१ हजार ४४७ आम्दानी तथा ८३ लाख ८३ हजार १९२ रुपैया खर्च हुँदा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको आर्थिक व्यवस्थापन समितिका संयोजक सुवासचन्द्र गौतमले जानकारी दिए । आयव्यय सार्वजनिक गर्दै उनले ६ लाख ५५ हजार ५२७ रुपैया अझै उठ्न बाँकी रहेको जानकारी दिए । ४५ वटा शीर्षकमा आम्दानी हुँदा रेवानले फेस्टिबल सम्पन्न गर्न १८ वटा मुख्य शीर्षकमा खर्च गरेको जनाएको छ । फेस्टिबलमा घाटा हुँदाहुँदै पनि रेवान सौराहाले मालपुर माविमा विद्यार्थीलाई योगाभ्यासको लागि प्लाष्टिको म्याटेस, व्याट्री र इन्भटर सहयोग गरेको छ ।
त्यसैगरी झुवानी माविलाई निकट भविश्यमै व्याट्री र इन्भटर प्रदान गरिने छ । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहामा हरेक बर्ष रेवानले गर्ने फुड फेस्टिबलमा नाफा र घाटा नहेरिने बताए ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकास पाण्डेले सडकको दुराअबस्थाका कारण सौराहामा भारतीय पर्यटकको संख्यामा कमी आएको बताए । उनले चितवनमा पर्यटक भित्र्याउन घुमौ सौराहा अभियानलाई निरन्तरता दिन थालिएको बताए । कार्यक्रमका प्रमुख अतिथि रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं ६ का निर्वतमान अध्यक्ष बलराम दाहालले सौराहामा एउटै उद्देश्यले आयोजना गरिदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सव र सौराहा फुड फेस्टिबल फरक फरक बर्षमा गर्दा प्रभावकारी हुने विचार व्यक्त गरे ।























