चितवन विशेष

व्यक्तिको लगानीमा देवघाट प्रवेशद्धारमै बन्यो आकर्षक ‘सिद्देश्वर धाम’

Banner

चितवन, वैशाख ५–

देवघाट सुपरिचित धार्मिकस्थल हो । यही धार्मिक स्थलको मुख्य प्रवेशद्धार नजिकै आकर्षक ‘सिद्देश्वर धाम’ निर्माण भएको छ । भरतपुर–२ निवासी सामाजिक व्यक्तित्व केशवराज कँडेलले व्यक्तिगत लगानीमा आकर्षक धाम निर्माण गरेका हुन् । जलदेवी सामुदायिक वनको ५ कठ्ठा क्षेत्रफलमा कँडेलले ठूलो शिवलिंग सहितको आकर्षक धाम निर्माण गरेका हुन् । धाममा शिवलिंग सहित गणेश, हनुमान, काली, सरस्वती, विष्णु भगवानको मुर्ती राखिएको छ । ती सबै मुर्तीहरु भारतबाट ल्याईएको धाम निर्माणकर्ता कँडेलले बताए । ‘भारतबाट स्तरीय र आकर्षक मुर्ती ल्याएका छौं, यसले धामलाई आकर्षक बनाउन मद्दत पुग्छ ।’–कँडेलले भने ।

२०७३ सालमा सामुदायिक वनबाट समाजसेवी कँडेललाई एउटा शिव लिंक निर्माण गरिदिन प्रस्ताव आयो । त्यो प्रस्ताव आएपछि खुशी भएका कँडेलले परिवारमा छलफलमा चलाए । आफू पनि व्यक्तिगत रुपमा शिव भगवानलाई बढी पुज्ने भएकाले कँडेलले धाम निर्माण गर्ने प्रक्रिया अघि बढाए । ८ वर्षपछि उनले धाम निर्माण सम्पन्न गरेर सामुदायिक वनलाई हस्तान्तरण गर्दैछन् । ‘धेरै मेहनतपछि धामको निर्माण सम्पन्न भएको छ, मेरो इच्छा पनि आज पूरा भएको छ’–कँडेलले भने ।

वि.सं.२०७३ सालबाट सुरु भएको धाम निर्माणको काम विविध कारणले ढिलाई हुँदै आइरहेको थियो । अहिले सबै काम सकिएपछि शनिबार औपचारिक रुपमा धामको समुद्घाटन गरिदैछ । धामको गेट बनाउनेदेखि कम्पाउण्डवालसम्म सबै निर्माण उनै कँडेलले गरे । जसभित्र पुजारी बस्ने घर र अन्य धेरै संरचना निर्माण भएका छन् ।

जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले धाम निर्माणसंगै अब सामुदायिक वनमा धार्मिक पर्यटकको आगमन हुनेमा विश्वास व्यक्त गरे । सामुदायिक वन भित्रको ५ प्रतिशत भन्दा कम क्षेत्रफल भएको ठाउँमा पर्यापर्यटन विकास गर्न पाइने वन नियमावली अनुसार नै यो धाम निर्माण गर्न कँडेललाई आग्रह गरिएको बताए । ‘लामो प्रयासपछि आज यो धामले पूर्णता पायो, अब धार्मिक पर्यटनमा यसले टेवा पु¥याउनेमा विश्वास छ’–देवकोटाले भने ।

देवकोटाले देवघाट प्रवेशद्धारामा पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी नै यो धाम बनाइएको बताए । ‘देवघाट र बागीश्वरी नजिक भएकाले यहाँ धार्मिक पर्यटन बढाउन शिवलिंग बनाउनुपर्छ भनेर हामी २०७३ सालमा लागि प¥यो, हाम्रो प्रस्ताव समाजसेवी केशवराज कँडेलले स्वीकार गरेपछि आज यो संरचना निर्माण भयो, सुरुमा एउटा शिवलिंग मात्रै बनाउने कुरा भएको थियो, पछि धामकै रुपमा विकास गरिदिनुभयो ।’–देवकोटाले भने । उनले यस धाम निर्माण भएसगै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

धामलाई व्यवस्थित र प्रचारप्रसार गर्न भरतपुर वडा नं.२ वडा कार्यालयले साथ दिएको छ । वडा अध्यक्ष मनोज रानाभाटले वडा भित्रको आकर्षक पर्यटकीय ठाउँको प्रचारप्रसार गर्न वडा कार्यालयले समन्वय गर्ने बताए । उनले यस धामको विशेष प्रवद्र्धन वडा कार्यालयले गर्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>