कृषि

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

Banner

जोमसोम (मुस्ताङ),वैशाख ५-

कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका-४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहनुभएको छ । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उहाँले दुई वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहनुभएको हो ।

साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गर्नुभएको हो । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुनुहुन्छ । शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुग्नुभएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुग्नुभएका शाहीले भारतको सिम्लामा २५ वर्षसम्म भन्दा बढी स्याउ फर्ममा काम गर्नुभयो ।

परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ ९कोरोना भाइरस०ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब दुई वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उहाँले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गर्नुभयो ।

अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी सुरु गरेको शाहीले जानकारी दिनुभयो । सुरुवातका वर्षमा उहाँले स्याउ नर्सरीबाट पाँच हजार बिरुवा बेचेको बताउनुभयो ।

भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ । दुई वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको छ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उहाँले अनुभव सुनाउनुभयो ।

हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा रु तीन सयदेखि रु नौ सयसम्ममा बिक्री गरिरहेको जानकारी दिनुभयो । फार्ममा लगाएको तीन सय बोट उत्पादन दिन तयार भएका उहाँले बताउनुभयो ।

“छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसा क्षेत्रमा स्याउ फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो । दुई वर्ष अघि नर्सरीको सुरुआत गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बिरुबा लिन मुस्ताङ भित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउनुहुन्छ ।”

शाहीका अनुसार अबको पाँच वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुबा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैंँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ । शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको एक हजार ९०० मिटरदेखि तीन हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>