चितवन विशेष
रास्वपाले आजदेखि चितवनबाट जनयात्रा कार्यक्रम सुरु गर्दै,केन्द्रीय नेताले सम्बोधन गर्ने

चितवन,चैत २३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिवार)देखि जनयात्रा कार्यक्रम सुरु गर्दैछ । कार्यक्रम भरतपुरको जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चौरमा हुनेछ । कार्यक्रमलाई रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्नेगरी तयारी गरिएको भएपनि शुक्रबार राती उनि पक्राउ परेपछि अन्य नेताहरु सम्बोधनका लागि आउने भएका छन । सभापति पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ।
रास्वपाले शनिबार चितनवमा जनयात्रा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो। जनयात्रा कार्यक्रमलाई सभापति लामिछानेकै निर्देशनअनुसार कार्यक्रम सफल पार्ने निर्णय पनि गरेको छ। सभालाई शान्तिपूर्ण बनाउन तथा सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै बैठकले अदालतको आदेशको सम्मान गर्न र अर्को तह र ढोकामा न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ। त्यस्तै पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको छ। ‘विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर(संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने,’ निर्णयमा भनिएको छ।
बैठकले सभापति लामिछानेले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक तोकेको र त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
























