चितवन विशेष
रास्वपाको भोलि चितवनमा हुने जनयात्रा कार्यक्रम नरोकिने,केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

चितवन,चैत २२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार चितवनमा गर्ने भनेको ‘जनयात्रा उद्घाटन’ कार्यक्रम नरोकिने भएको छ। सो कार्यक्रमलाई रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै कार्यक्रम के हुन्छ ? भन्ने चासो बढेको छ ।
तर, रास्वपा चितवनले भोलिको जनयात्रा कार्यक्रम यथावत् रहने बताएको छ । भरतपुर– १० को गेष्ट हाउस चौरमा भोली दिउँसो २ बजे उक्त कार्यक्रम तय भएको थियो । पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार लामिछानेले केन्द्रीय समिति बैठकमै यसबारे प्रष्ट पारिसकेका थिए ।
‘केन्द्रीय समितिको बैठकमा पनि पार्टी सभापतिले अदालतले जे पनि गर्न सक्छ, म नभए पनि कार्यक्रम गर्नुस् भन्ने नै कुरा थियो,’ गौतमले भने, ‘सभापति नभए पनि पार्टीको कार्यक्रम नरोक्ने भन्ने छ ।’ रास्वपाको जनयात्राका लागि भन्दै केही नेता चितवन आइसकेका छन् । पार्टी दुई जना उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले भोलि आउने भन्ने जानकारी पाएको केन्द्रीय सदस्य गौतमले बताए ।