खैरहनी

विपन्न बालबालिकालाई एक गिलास दुध र अण्डाको लागि पोषण अनुदान

Banner

चितवन, चैत १६–

खैरहनी नगरपालिकाले विपन्न बालबालिकाको लागि पोषण अनुदान कार्यक्रम ल्याएको छ । बिपन्न परिवारका बालबालिकालाई खानपानको अभावले पोषणको कमि नहोस् भनेर नगरपालिकाले पोषण अनुदान कार्यक्रम ल्याएको हो ।

पोषण अनुदान कार्यक्रम अन्तर्गत ६ महिना पूरा भएर ३ बर्ष उमेरसम्मका बालबालिकालाई दैनिक कम्तिमा एक गिलास दुध र एउटा अन्डासम्म खान पुग्ने गरि नगरपालिकाले अनुदान दिन सुरु गरेको छ । नगरपालिकाले दैनिक ४० रुपैयाँको दरले मासिक १ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराउन थालेको हो । उक्त रकम नगरपालिकाले बालबालिकाको अभिभावकको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ ।

नगरपालिकाभित्र कोहिपनि बालबालिकामा पोषणको कमि नहोस् भनेर पोषण अनुदान कार्यक्रम ल्याइएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले बताए । अभिभावक आर्थिक रुपमा विपन्न भएकै कारण बालबालिकामा पौष्टिक आहारको कमिले कुपोषण नहोस् भन्ने सोचले कम्तिमा एक अण्डा र एक गिलास दुधको लागि रकम नगरपालिकाले प्रदान गर्न सुरु गरेको नगर प्रमुख खनियाले बताए । नगरपालिकाले उक्त कार्यक्रम समावेशको लागि निवेदन दिएकाहरुलाई विभिन्न मापदण्ड अनुसार छनौट गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षमा ९७ जना लाभान्वित हुनेछन् । नगर प्रमुख खनियाँले भौतिक पुुर्वाधारमा गरिने विकासले मात्रै वास्तविक समृद्धि नहुने भन्दै भविष्यका कर्णधारहरुलाई स्वस्थ राख्नेतर्फ पनि सचेत हुनुपर्ने बताए ।
पोषण अनुदान रकम प्रदान गर्नुपूर्व शुक्रबार पोषण अनुदान कार्यक्रम सम्बन्धि अभिमुखिकरण तथा पोषण लेखाजोखा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा पोषण अनुदान मार्फत प्राप्त रकम बालबालिकालाई पोषणयुक्त खाद्य सामाग्रीमा मात्रै खर्च गर्न अभिभावकलाई सचेत गराइएको थियोे । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले पोषण अनुदान रकम बालबालिकाको पौष्टिक आहारमा मात्रै खर्च गर्न आग्रह गर्दै उक्त रकम अभिभावकले आफ्नो लागि खर्च गर्ने , घरायसी खर्चको लागि प्रयोग गर्ने, ध्रुमपान, मद्यपानमा खर्च गर्न नपाइने प्रष्ट पार्दै त्यसो गरेको पाइएमा अनुदान रकम रोक्का गर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर उप–प्रमुख कविता उप्रेतीले २ वर्ष सम्म बालबालिकाको ८०प्रतिशत र ५ वर्ष सम्म ९० प्रतिशत मानसिक विकास हुने र मानसिक तथा शारिरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्त्व रहेको बताइन् । उनले आफ्ना बालबालिकाको स्वास्थ्यमा ध्यान दिनु अभिभावकको जिम्मेवारी रहेको र यसमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन् ।
विपन्न परिवारका बालबालिका पोषण अनुदानको लागि यस आर्थिक वर्षमा करिब १५ लाख रुपैयाँ खर्च हुने र आगामी वर्षदेखि वार्षिक २० लाख भन्दा बढि रकम खर्च हुने प्रक्षेपण रहेको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले बताए ।

कार्यक्रमको अवसरमा लाभग्राही बालबालिकाको पोषण स्थिको जाँच, स्वास्थ्य परीक्षण तथा अभिभावकलाई पोषणको महत्व सम्बन्धी अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले पोषण तथा यसको महत्व, स्तनपानको फाइदा, कुपोषणको प्रभाव तथा लाभग्राही लागि आवश्यक मापदण्ड सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>