भरतपुर
बेटर चितवनको ‘वाउ वुमन अवार्ड’बाट दुई जना सम्मानित

काठमाडौँ, फागुन २५-
सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन अवार्ड’ बाट दुई जनालाई सम्मानित गरेको छ ।
शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा यसवर्षको वाउ वुमन अवार्डबाट पशु अधिकारकर्मी सुधा तिमिल्सिना र दोहोरी गायिका आयुष्मा केसीलाई सम्मान गरिएको हो । तिमिल्सिना चितवनमा रहेर पशु कल्याणको क्षेत्रमा काम गर्दै आइरहनुभएको छ भने केसीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको हकहित र हिंसा विरुद्धको क्षेत्रमा काम गरिरहनुभएको छ । सम्मानित दुवै जनालाई अभियन्ता एवंम सामारी उत्थानकी निर्देशक विमला गायक, बेटर चितवनकी सल्लाहका, अधिवक्ता एवंम लेखक सरिता तिवारी र बेटर चितवनकी कार्यक्रम संयोजक बिनीता गुरुङ्ले संयुक्त रुपमा अवार्ड हस्तान्त्रण गर्दै सम्मान गर्नुभएको थियो ।
बेटर चितवनले विगत एक दशकदेखी समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलालाई सम्मान गर्दै आइरहेको बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिनुभयो । ‘वाउ वुमन’ कार्यक्रमकी संयोजक सनिसा आचार्यले महिलाहरुको विशेष उत्सवको दिनमा विशेषगरि श्रमिक महिलाहरुको सम्मान गर्दै अधिकार र हकहितको सुनिश्चित गर्नका लागि युवाहरुले सन्देश पुर्याउने हिसाबले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।
यस्तै सोही कार्यक्रममा ‘सशक्त महिला, समुन्नत समाजः नयाँ सोच, नयाँ सम्भावना’ नामक प्यानल छलफल कार्यक्रमसमेत गरिएको थियो । प्यानलमा वक्ताहरुमा अभियन्ता विमला गायक, अभियन्ता एवम चिकित्सक डा.सुवास वस्नेत र लेखक, अनुसन्धानकर्ता रीता साह हुनुहुन्थ्यो । कार्यक्रमको सहजकर्ता पत्रकार एंवम अधिकारकर्मी सिन्धु ढकालल गर्नुभएको थियो । प्यानल छलफलमा रिता साहले मधेसी समुदायमा भइरहेका विभेद र यस्ले सिर्जना गरेका समस्याबारे उजागार गर्नुभएको थियो मधेसमा कठोर पितृसत्ताको अभ्यास रहेकाले धेरै समस्या रहेको उहाँको भनाइ थियो ।
मधेसी समुदायमा अहिले पनि महिलालाई घर समाज र जातको इज्जतको रुपमा मात्र हेरिने परम्परा रहेको उल्लेख गर्दै उहाँले दाइजो प्रथा, छोरी भु्रण हत्या जस्ता विभिन्न समस्याले मधेसलाई जेलेको उल्लेख गर्नुभयो । ‘मधेसमा दाइजो प्रथा अवलम्बन नगर्ने व्यक्ती होलान तर घर छुटेको छैन । कोहि पनि छोरी जन्माउन चाहादैन । शिक्षित र पढेलेखेकैहरुमा यस्तो धेरै छ ।’ उहाँले भन्नुभयो । महिला शसक्तिकरणको लागि सरकारले काठमाडौँमा बसेर निर्णय गरेर नहुने उहाँको भनाइ थियो । समाज रुपान्तरणको लागि स्थानियस्तरमा रहेका राजनीतिक दलका प्रतिनिधि , अभियन्ता , अधिकारकर्मी सबैको हातेमालो हुन उत्तिकै जरुरत रहेको उहाँको भनाइ थियो ।
यस्तै अर्का वक्ता विमला गायकले मनोरञ्जन क्षेत्र, घरेलु मजदुर, फोहोर संकलन गर्ने क्षेत्रमा काम गर्ने महिला मजदुरहरु संगठित भई आफ्नो हकहितको लागि नितिगत लडाइ लड्नुपर्नेमा जोड दिनुभयो ।

























