खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटको उपाधी अर्किड स्कुललाई

चितवन, फागुन २४-
भरतपुर महानगरपालिका द्वारा आयोजित भरतपुर मेयर्स कप इन्टरस्कुल लिग क्रिकेटको उपाधी अर्किड इङ्लिस स्कुलले जितेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधी उचालेको हो ।
नारायणीले जितको लागि दिएको ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको जितमा सलमान अन्सारीले अविजित २३ र मन्दिप बरालले १८ रनको योगदान दिए । नारायणीका उमेश महतोले २ र राहुल कुशवाहाले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले २३.३ ओभरमा ७६ रनमै अलआउट भयो । उसका लागि आयुस गिरीले २५ र समीर पौडेलले १४ रन बनाए । नारायणीलाई सस्तैमा समेट्न अर्किडका प्रशिद्द अर्यालले ६ ओभरमा मात्र ७ रन खर्चिदै ४ विकेट लिए भने कप्तान मन्दिप बरालले ६ ओभरमा २२ रन खर्चिदै ४ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच अर्किडका कप्तान मन्दिप बराल भए ।
६ खेलमा २३ विकेट लिएका मन्दिप प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने । यस्तै ७ खेलमा २३४ रन बनाएका नारायणी इङ्लिस पब्लिक स्कुलका कृष्ण मगर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी घोषित भए । विजेता टिमलाइ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, चितवन राइनोजका सिइओ प्रताप देवकोटाले पुरस्कार वितरण गरे । करिव ३ महिना चलेको प्रतियोगितामा ४७ विधालय सहभागी थिए ।
४३ विधालय मध्ये ६ वटा विधालय छनोट चरण पार गर्दै लिग चरण प्रवेश गरेका थिए भने पहिलो सस्करणका सेमीफानालिस्ट सिधै लिग चरणमा स्थान बनाएका थिए । कुल १० टिम लिग चरण सेतो जर्सी र रातो बलमा ३० ओभरको खेल खेलेका थिए ।
























