चितवन विशेष
चितवनमा २६ हजार ४ सय ७२ जना किशोरीले लगाए एचपिभी खोप

चितवन , फागुन १२-
चितवनमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २६ हजार ४ सय ७२ जना किशोरीले लगाएका छन् । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालित एचपिभी खोप अभियानअन्तर्गत लक्षित ३१ हजार ५ सय ७० किशोरीमध्ये ८३ प्रतिशत किशोरीले खोप लगाएको चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १२ हजार ७ सय १० किशोरीले एचपिभी खोप लगाएका छन् । त्यस्तै रत्ननगरमा ३ हजार ४ सय ३७, खैरहनीमा २ हजार ७ सय ३, राप्तीमा २ हजार ९ सय ३४, कालिकामा २ हजार २ सय २७, माडी नगरपालिकामा १ हजार ४३ र इच्छाकामना गाउँपालिकामा १ हजार २ सय ४१ किशोरीले एचपिभी खोप लगाएको बताउनुभयो ।
चितवनमा खोप अभियानका लागि ४ सय ३३ वटा खोप केन्द्र, ४ सय ५५ जना स्वास्थ्यकर्मी र ९ सय १० जना स्वयंसेवक परिचालन गरिएको चितवनका भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताउनुभयो । उहाँले झन्डै ४ हजारभन्दा माथि एचपिभी खोप फिर्ता गरिएको पनि बताउनुभयो ।
सबैभन्दा बढी खोप भरतपुर वडा नं १० मा लगाइएको थियो । भरतपुर महानगरपालिकाको मातृशिशु क्लिनिकमा नियमित रुपमा खोप लगाउने काम भएको थियो । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने किशोरीलाई लगाउन लगाइएको हो । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समुहका किशोरीलाई खोप लगाइएको थियो ।
























