चितवन विशेष
सक्रिय टोलमा निःशुल्क छाला तथा यौन रोगको स्वास्थ्य शिविर

चितवन, फागुन ४–
भरतपुर–१६, स्थित सक्रिय टोल विकास संस्थाका बासिन्दाहरुको निःशुल्क छाला, यौन तथा कुष्ठरोगको उपचार गरिएको छ ।
दया हेल्थ केयरको प्राविधिक सहयोगमा भएको भएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जना स्थानीयले स्वास्थ्य सेवा लिएको शिविर व्यवस्थापन संयोजक मोहन तिवारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षण पश्चात आवश्यकताको आधारमा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो । यस्तै निदान प्याथोलोजी भरतपुरको टिमबाट निःशुल्क मधुमेह, रक्तचापको समेत परीक्षण गरिएको थियो ।
शिविरमा दया हेल्थका प्रमुख वरिष्ठ छाला, यौन तथा कुष्ठरोग कस्मेरोलोजी विशेषज्ञ डा.शुभकान्त गौतमले स्थानीयबासीको स्वास्थ्य परीक्षण गरेका थिए । सो क्रममा बोल्दै डा.गौतमले छाला र यौन सम्बन्धी धेरै कम मात्रामा स्वास्थ्य शिविर हुने गरेको भन्दै निःशुल्क स्वास्थ्य शिविरको फाइदा उठाउन आग्रह गरे । उनले छाला र यौन रोगको विषयमा मानिस खुल्न नचाहने भएकाले धेरै समस्या निम्तिने गरेको उल्लेख गर्दै यस्ता शिविर गर्न आवश्यक रहेको बताए । उनले आयोजक टोल विकास संस्थालाई धन्यवाद दिए ।
औपचारिक कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।