Breaking News
चितवनमा रविविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेको भन्दै सरकारी वकीलको सरुवा

चितवन, माघ २३-
साहारा चितवन बहुउद्देश्यिय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध हिजो (मंगलवार) चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरेका सरकारी वकीललाई सरकारले रातारात सरुवा गरेको छ ।
रविविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालय चितवनका प्रमुख जिल्ला न्यायाधिवक्ता शान्तीप्रसाद लुइटेलको काजसरुवा गरिएको हो । मंगलवार रविसहित तीन जनाविरुद्ध सहकारी ठगीको मुद्धा मात्रै दर्ता गरिएको थियो ।
रविविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले लुइँटेलको सरुवा गरेको हो । महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार मानिन्छन् ।
रविविरुद्ध सहकारी ठगीको मुद्धा मात्रै दर्ता भएपछि आक्रोशित महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।
स्रोतका अनुसार रविविरुद्ध जसरी पनि सहकारी ठगीसँगै संगठित अपराध मुद्दा चलाउन लुईंटेलमाथि दबाब थियो । तर, संगठित अपराध निवारण ऐनको व्याख्या गरी रविमाथि यो कानुन आकर्षित नहुने सरकारी वकिल कार्यालयको निष्कर्ष थियो ।
‘संगठित अपराधको कसुर आकर्षित हुन आपराधिक समूहको सदस्य भई जानीजानी गम्भीर अपराध गरेको हुनुपर्ने भन्ने ऐनमा छ,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘तर, उनको हकमा यो प्रावधान आकर्षित हुने नदेखिएपछि त्यही आधारमा हामीले कानुनअनुसार निर्णय गर्यौँ, तर एक्कासि शान्ति सरको सरुवा भएको सुन्यौँ ।’ सरुवापछि लुइँटेलले भने यस विषयमा बोलेका छैनन् ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले चितवनका जिल्ला न्यायाधिवक्ता लुइँटेलको सरुवा भएको पुष्टि गरे । ‘उहाँको महान्यायाधिवक्ता कार्यालयमा काजसरुवा भएको छ,’ उनले भने । रवि लामिछानेसम्बन्धी मुद्दाको कारण नभई एक वर्ष अवधि पुग्न लागेकाले सरुवा भएको उनको दाबी छ ।
चितवनमा सहकारीको रकम गार्खा मिडियामा लैजान र फिर्ता गर्नमा रविको प्रत्यक्ष संलग्नता देखिएको छैन । गोर्खा मिडियामा गइसकेको रकम खर्च गर्नमा संलग्नता देखिएकाले उनलाई सहकारी ठगीको मुद्धा लगाइएको छ ।