चितवन विशेष

नारायणगढ जेसीजले ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’ आयोजना गर्ने

Banner

चितवन, माघ ८–

सामाजिक संस्था नारायणगढ जेसीजको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । यही माघ १९ गते शनिबार नारायणगढस्थित नारायणी नदी किनारमा ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’ सांगीतिक कार्यक्रम हुन लागेको नारायणगढ जेसीज वर्ष २०२५ का अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)को प्रस्तुतीमा हुन लागेको कार्यक्रममा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जेम्सी गुञ्जिने छन् । अध्यक्ष श्रेष्ठले नारायणगढ जेसीजको स्वर्ण जयन्तीको अवसर पारे यस सांगीतिक कार्यक्रम गर्न लागिएको भन्दै सहभागिताका लागि सबैमा अनुरोध गरे । उनले कार्यक्रमबाट प्राप्त मुनाफालाई कुरिनटारमा रहेको जेसिज भिलेजको कल्याणकारी कोषमा जम्मा गरिने बताए ।

कार्यक्रमका संयोजक जेसी विशाल श्रेष्ठले सांगीतिक कार्यक्रमको तयारी भव्य रुपमा भइरहेको जानकारी दिए । यस कार्यक्रममा भण्डै आठ हजार दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा राखेको छ । चितवनमा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले पहिलो पटक आफ्ना प्रस्तुति मार्फत गीत सुनाउन लागेका हुन् ।

पीभीई नेटवर्कको प्रस्तुतीमा विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम हुँदै आइरहेका छन् । पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डको प्रस्तुती सफलतापूर्वक सम्पन्न भइसकेको छ । पीभीई नेटवर्कका विकेश कायस्थले चितवनको सांगीतिक कार्यक्रमलाई विशेष बनाउन आफूहरु सक्रिय रहेको बताए ।

संस्थाको प्रतिनिधित्व गर्दै मनोज घिमिरेले क्षेत्रीय तहमा चितवनको कार्यक्रम संयोजन गरिरहेका छन् । उनले कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन तयारी अन्तिम चरणमा पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>