खेलकुद

भरतपुर मेयर्स कप क्रिकेटः लक्ष्मी मावि लंकु लिग चरणमा छनोट

०
Banner

चितवन, माघ ७–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लक्ष्मी मावि लंकु लिग चरणमा छनोट भएको छ । सामुदायिक विद्यालय अन्तरगतको छनोट चरणका खेलहरुमा उत्कृष्ट नेटरनरेटका साथ शीर्ष स्थानमा रहेपछि लक्ष्मी माविलाई सिधै लिग चरणमा छनोट गरिएको आयोजकले जनाएको छ ।
अब लिग चरणमा प्रवेशका लागि हिमालय दण्डपानी मावि, शरदपुर मावि, प्रेमबस्ती मावि र चितवन माविबीच प्रतिस्पर्धा हुनेछ । यी चार टिमबाट दुई टिम लिग चरणमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको दोस्रो चरणको खेल अन्तरगत आज (सोमबार) भएका खेलहरुमा पोलार स्टार इङलिस बोर्डिङ स्कुल र हिमालय दण्डपानी मावि विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा हिमालय दण्डपानीले गंगानगर माविलाई ३२ रनले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ । हिमालय दण्डपानीले दिएको ११३ रनको लक्ष्य पछ्याएको मावि गंगानगर १४ ओभरमा ८० रनमै अलआउट भयो । उसका लागि उर्बर तामाङले १८ रन बनाए । हिमालय दण्डपानीका सफल खाँडले ३ र असरिन रिजालले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हिमालय दण्डपानी ८ विकेटको क्षतिमा ११२ रन जोडेको थियो । उसका लागि असरिन रिजालले ३१, महेश रानाले १५ रन बनाए । मावि गंगानगरका जयप्रकाश यादवले ३ विकेट लिए । असरिन रिजाल प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा पोलार स्टारले लिटिल फ्लवार इङलिस स्कुललाई ५ विकेटले पराजित गर्‍यो । लिटिल फ्लवारले दिएको १०५ रनको लक्ष्य पोलार स्टारले १६.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । पोलार स्टारको जितमा सन्तेष खड्काले ३९ र विराट रेग्मीले १५ रन बनाए । लिटिल फ्लवारका अर्मान पौडेल र प्रनिश लामाले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लिटिल फ्लवारले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । उसका लागि दिवस गुरुङले २२ निगम भट्टराईले १३ रन बनाए । पोलार स्टारका दृश्य अम्गाईले ३ र सन्तोष खड्काले २ विकेट लिए । खेलमा सन्तोष खड्का प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>