समाचार
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउन सक्रियता

काठमाडौं, माघ ५-
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिए ।
निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने, स्वदेशमै रोजगारी सिर्जना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
पर्याप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक अवस्था मजबुत बन्ने उनको भनाइ छ । उनले भने, “यो कार्यक्रम उद्योग मन्त्रालयको मात्रै भनेर निर्देशिका कार्यान्वयनमा आनाकानी गर्ने छुट कसैलाई छैन, निर्देशिका राजपत्रमा प्रकाशन हुनेबित्तिकै सबैले अनिवार्य कार्यान्वयन गर्नु पर्छ, यसका लागि सरकारले राष्ट्रिय रूपमै अभियान चलाउने तयारी गरेको छ ।”
मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले सबै निकायका प्रमुखले स्वदेशी वस्तुको प्रयोगका लागि मानसिक रूपमै तयार हुनुपर्ने बताए । उनले भने, “सबैको मनबाटै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्छ भन्ने भावना विकसित हुनु जरुरी छ । स्वदेशी उत्पादनको उच्चतम प्रयोग हुनेमा दुई मत छैन ।” उद्योग सचिव कृष्णबहादुर राउतले सबै मन्त्रालय र मातहतका निकायलाई स्वदेशी वस्तु प्रयोग निर्देशिका कार्यान्वयनमा सहजीकरणका लागि आग्रह गरे।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीले अहिले ७० वस्तुले नेपाल गुणस्तर प्राप्त गरिसकेको अवस्थामा सो वस्तुहरू प्रयोग गर्न सकिने र अरू पनि आवश्यक वस्तुको गुणस्तर प्रमाणीकरण गर्न विभाग तयार रहेको बताए । छलफलमा सहभागी अन्य मन्त्रालयका प्रतिनिधि, विभागीय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका–२०८१ को कार्यान्वयनमा केही चुनौती भए पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
























