समाचार
प्युठानमा डस्टबिनभित्र भेटियो शिशुको शव, अनुसन्धान गर्न कुकुरसहितको प्रहरी टोली खटियो

काठमाडौं, माघ ३-
प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै दिउँसो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव केसीका अनुसार साँझबाट अनुसन्धानको कार्य अघि बढाइएको छ । बिहीबार बिहानै शिशुको शव फेला परेको थियो । यद्यपि, कुकुरसहितको टोली आउने भएपछि दिनभर शव चलाइएको थिएन ।
गए राति बच्चा जन्माएर फोहोर फाल्ने डस्टबिनमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । शिशुको शव डस्टबिनमा घोप्टो परेको अवस्थामा स्थानीयले भेटेका थिए ।