खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः अर्बिट र होली भिजन विजयी

चितवन, माघ २–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (बुधबार) भएका खेलहरुमा अर्बिट इङलिस स्कुल र होली भिजन पब्लिक स्कुल विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा अर्बिटले विजय इङलिस स्कुललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । विजयले दिएको ३४ रनको झिनो लक्ष्य अर्बिटले १ विकेटको क्षतिमा पुरा ग¥यो । उसका लागि मनिष देवकोटाले नटआउट १७ रन बनाए । विजयका शिव बास्तोलाले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विजय जारी प्रतियोगिताकै सबैभन्दा कम ३५ रनमै अलआउट भयो । उसका लागि शिरिष तामाङले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । विजयलाई सस्तैमा समेट्न अर्बिटका मुक्ति सापकोटाले ह्याट्रिकसहित ६ विकेट लिए । उनी प्रतियोगिताकै पहिलो ह्याट्रिक लिने बलर भए । अभिषेक थापाले २ विकेट लिए । ह्याट्रिक विकेट लिएका मुक्ति सापकोटा प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा होली भिजन पब्लिक स्कुलले फराकिलो जित हात पार्यो । होली भिजनले ग्राण्डी इङलिस स्कुललाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको होली भिजन प्रतियोगिताकै सबैभन्दा धेरै २०५ रन जोड्यो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै होलीभिजनले प्रतियोगिताकै उच्च स्कोर बनाएको हो । उसका लागि सागर कँडेलले ५१ बलमा ७३ रनको अर्धशतकीय पारी खेले । निवेश कँडेलले ४८ रन जोडे । ग्राण्डीका सलमान आलमले २ विकेट लिए ।
२०६ रनको विशाल लक्ष्य पछ्याएको ग्राण्डी ६८ रनमै अलआउट भयो । अर्धशतक बनाएका होली भिजनका सागर प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि पनि दुई खेल हुनेछन् । विहान ९ः३० बजे हुने खेलमा अरोमा इङलिस स्कुल र इडेन गार्डेन स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे स्टेप बाइ स्टेप इङलिस स्कुल र उषा इङलिस स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल भइरहेका छन् । यसबाट विजयी भएका टिमहरुबीच पुनः दोस्रो चरणको छनोट हुनेछ । त्यसबाट विजयी टिम लिग चरणमा प्रवेश गर्नेछन् ।
























