खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः हिमालय दण्डपाणी मावि ९८ रनले विजयी
चितवन, पुस २६–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (शुक्रबार) भएको एक मात्र खेलमा हिमालय दयण्डपाणी मावि ९८ रनले विजयी भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा हिमालय दण्डपाणीले दिएको १७१ रनको लक्ष्य पछ्याएको राष्ट्रिय मावि सोशी १४.१ ओभरमा ७२ रनमै अलआउट भयो । सोशीका लागि साजन भण्डारीले सर्वाधिक १५ रन बनाए । हिमालय दण्डपाणीका निरज कुशवाह र अशरिन रिजालले समान ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हिमालय दण्डपाणी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो । उसका लागि सफल खाँणले ३१ र महेश रानाले २७ रन बनाए । सोशीका रेमन महतो ३ र प्रज्वल दराईले २ विकेट लिए । सर्वाधिक रन बनाएका हिमालयका सफल खाँण प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछ । पहिलो खेलमा डन एकेडेमी र नारायणी इङलिस पब्लिक स्कुलबीच विहान ९ः३० बजे प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा दिउँसो १ बजे ओम शान्ति एकेडेमी र प्रेरणा सेकेण्डरी स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् । छनोट पार गरेका टिम, पहिलो संस्करणका सेमीफाइनल पुगेर सिधै दोस्रो चरणमा प्रवेश गरेका ४ र बाई परेर सिधै दोस्रो चरणमा पुगेका एक टिमबीच लिग चरणमा खेल हुनेछन् । लिगका उत्कृष्ट चार टिमबीच सेमीफाइनल हुँदै फाइनल प्रतिस्पर्धा हुनेछ ।