क्रिकेट
भरतपुर मेयर्स कप क्रिकेटः शरदपुर मावि र लक्ष्मी मावि लंकु विजयी
चितवन, पुस २५–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (बिहीबार) भएका खेलहरुमा शरदपुर मावि र लक्ष्मी मावि लंकु विजयी भएका भएका छन् ।
आज भएको पहिलो खेलमा शरदपुर माविले जनज्योति माविलाई ३ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । जनज्योतिले दिएको १०० रनको लक्ष्य शरदपुरले १७ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो । शरदपुररोहित यादवले ३८ रनको पारी खेले । अशोक यादवले १० रन बनाए । जनज्योतिका विवेश परियार र राजेन्द्र अर्यालले समान दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनज्योति मावि १६.२ ओभरमा ९९ रनमै अलआउट भयो । उसका लागि लक्षमण घलेले १७, सम्बन्ध गुरुङले १२ रन बनाए । जनज्योतिको ब्याटिङ ध्वस्त पार्न शरदपुरका धिरञ्जन शर्माले ४ ओभरमा २१ रन खर्चिदै ४ विकेट लिए भने मनिष सापकोटाले २.२ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिए ।
प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा लक्ष्मी मावि १११ रनको फराकिलो अन्तरले विजयी भयो । राष्ट्रिय आधारभूत विद्यालय ब्रह्मपुर ६८ रनमै अलआउट भएपछि लक्ष्मी मावि लंकु फराकिलो अन्तरले जित दर्ता गरेको हो । पहिले ब्याटिङ गरेको लक्ष्मी मावि १७.४ ओभरमा १७९ रनमा अलआउट भयो । उसका लागि प्रविण भुर्तेल ४८ रन बनाए । पंकज यादवले २५ रन बनाए । ब्रहमपुरका लागि नितेष चौधरीले ३ विकेट लिए ।
प्रतियोगिता अन्तरगत भोलि एक मात्र खेल हुनेछ । हिजो रद्द भएका खेल मध्ये राष्ट्रिय मावि शोसी र हिमालय दण्डपाणी माविबीच विहान ९ः३० बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
छनोट पार गरेका टिम, पहिलो संस्करणका सेमीफाइनल पुगेर सिधै दोस्रो चरणमा प्रवेश गरेका ४ र बाई परेर सिधै दोस्रो चरणमा पुगेका एक टिमबीच लिग चरणमा खेल हुनेछन् । लिगका उत्कृष्ट चार टिमबीच सेमीफाइनल हुँदै फाइनल प्रतिस्पर्धा हुनेछ ।