चितवन विशेष
मोटरसाइकलमा मेघौलीदेखि बारपाकसम्म
चितवन,पुस १४-
रोयल राइनो राइडर्सले चितवन मेघौलीदेखि गोरखाको बारपाकसम्म मोटरसाइकल र्याली गर्ने भएको छ । चितवनको यो क्लबमा रोयल इनफिल्ड मोटरसाइकल चलाउनेहरू आबद्ध छन् ।
सोमबार डिसेम्बर ३० मा मेघौली गएर बस्ने, भोलिपल्ट बिहानै यात्रा सुरु गर्ने त्यस दिन बारपाक पुगेर बस्ने र अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ मा बारपाकबाट फर्कने उनीहरूको योजना छ । ‘१५० वटा रोयल इनफिल्ड बाइक हुन छन् । पछाडि बस्नेहरूसमेत जोड्दा १७५ देखि १८० जनासम्म यो यात्रामा सहभागी हुने छन्’ आयोजक रोयल राइनो राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठले भने । यो यात्रामा भारतका आठवटा र भुटानका एउटा क्लबका राइडर्स पनि आउने उपाध्यक्ष मन्दिपमान श्रेष्ठले बताए । चितवन राइनो राइडर्सले सन् २०१३ देखि यस्तो गतिविधि गर्दै आएको छ ।
‘यस्ता बाइक चढ्नेहरु बढी आवाज निकालेर होहल्ला गर्दै हिँड्ने भन्ने भावना समुदायमा छ । हामी त्यस्ता छैनौं । हामी समाजका लागि नै काम गर्न चाहन्छौं,’ अध्यक्ष प्रितम श्रेष्ठले भने । यस्तो कार्यक्रमले युवाहरुमा सामुहिक भावना जाग्ने, समाजसेवामा उत्प्रेरित हुनेका साथै पर्यटनमा पनि टेवा पुग्ने उनले बताए । देश विदेशका क्लबहरू आउने भएका कारण यसबाट पर्यटनमा सघाउ पुग्छ भन्छन उनी । ‘ह्वील्स अन हिल्स’को पाँचौँ श्रृङ्खलाअन्तर्गत यो कार्यक्रम हुन लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रयोजक र सहभागीको प्रवेश शुल्कबाट उठेको पैसा बचत भएमा समाजिक काम गर्ने उनले बताए । ‘हामीले सामजिक कामहरू पनि गर्दै आएका छौं । यो पटक पनि बचत भएमा स्वास्थय शिविर सञ्चालन गर्ने योजना छ,’ रोयल राइनो राइडर्सका सदस्य रहेका चिकित्सक डा.शशांक सिंहले भने ।