Breaking News
सौराहामा हात्तीको वनभोज
चितवन, पुस १३-
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहिबारदेखि जारी १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई वनभोज खुवाइएको छ । शनिवार बाघमारा सामुदायिक बनको मैदानमा सरकारी र निजी ३५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।
हात्तीलाई उखु, केरा, मकै, भुइँकटर, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको युनाइटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । यस्तै चामललाई भेलीमा पकाएर हात्तीलाई मनपर्ने परिकार खिर बनाएर खुवाइएको छ । ‘यो परिकार हात्तीलाई निकै मनपर्ने खानेकुरा हो, खतिवडाले भन्नुभयो, १८ प्रकारका बिषादीरहित परिकार हात्तीलाई खुवाइएको छ ।’ एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौं, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भन्नुभयो, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो । ’ उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो ।
पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले हात्तीको वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती सुन्दरी र हात्तीका छावा विचको पेनाल्टी प्रतियोगिता आयोजना भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव पन्ध्र गतेसम्म चल्नेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन् ।