चितवन विशेष
फेरि बढ्यो अन्डाको मूल्य

चितवन,पुस १२-
अन्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ । भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो । नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेको हो ।
संघका अनुसार, अब चितवनमै मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा पर्नेछ ।पुस ५ गते मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ र ठूलो अन्डाको मूल्य ५०० रुपैयाँ कायम गरिएको थियो ।
सातवटा क्रेटको एक पेटीको मिडियम अन्डाको मूल्य तीन हजार ५०० रुपैयाँ पर्नेछ । ठूलो अन्डाको मूल्य प्रतिपेटी तीन हजार ६०० पर्नेछ । तोकिएको मूल्यमा चितवनबाट लोड भएर देशभरिको अन्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी थप १४० रुपैयाँ लाग्ने संघले जनाएको छ ।
























