चितवन विशेष
१० वर्षपछि लेभल १ अम्पायरिङ तालिम, एकैसाथ चितवनसहित ३ जिल्लामा सुरु
चितवन, पुस १०–
नेपाल क्रिकेट संघ (क्यान)ले दश वर्षपछि लेभल १ अम्पायरिङ प्रशिक्षण सुरु गरेको छ । आज एकैदिन चितवनसंगै कोहलपुर र बिराटनगरमा पाँच दिने प्रशिक्षण सुरु गरेको हो ।
चितवनको भरतपुरमा सुरु भएको प्रशिक्षणको क्यानका उपाध्यक्ष रोशन सिंहले समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उपाध्यक्ष सिंहले नेपाल क्रिकेट संघ अब आफ्नै प्रशिक्षकबाट लेभल १ प्रशिक्षण गराउन पाउँदा गर्वको विषय बनेको बताउनुभयो । यसअघि यस किसिमका प्रशिक्षणका लागि विगतमा आइसीसी र एसीसीलाई गुहार्नु परेकोमा अब त्यस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले आगामि दिनमा प्रशिक्षणका लागि अब यति लामो समय कुर्न नपर्ने विश्वास दिलाउनुभयो । उहाँले क्रिकेट खेलाडी अब खेलेर बाच्न सक्ने अवस्थामा पुगेको भन्दै अम्पायरलाई पनि सोही बाटोमा लैजाने अवस्था बनेको बताउनुभयो ।
पाँच दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेशको तर्फबाट बागमती, गण्डकी, लुम्बिनीबाट २/२ जना सहभागि छन् भने जिल्ला संघको तर्फबाट काठमाडौं, चितवन, रुपन्देही र कास्कीबाट २/२ जना, ललितपुर, नुवाकोट, भक्तपुर, मकवानपुर, नवलपुर, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङजा, बागलुङ, पर्वत र तनहुबाट एक/एक जना ओ लेभल गरेका अम्पायर सहभागि छन् । क्यानका लेभल २ अम्पायरहरु विनय कुमार झा, संजय गुरुङ र राम कैलाश यादवले पुस १४ गतेसम्म प्रशिक्षण दिनेछन् ।
त्यसपश्चात एक वर्षसम्म अम्यारहरुले गरेको कामको आधारमा क्यानले राम्रा प्रतियोगिता संचालनका अनुमति दिने क्यानका म्यानेजर विनोद दासले जानकारी दिनुभयो । लेभल १ गरेका अम्पायरहरुले जुनियर लेभलका राष्ट्रियस्तरका प्रतियोगिताहरु सम्म खेलाउन पाउने छन् ।
समुद्घाटन कार्यक्रममा क्यानका म्यानेजर विनोद कुमार दास, प्रशिक्षक विनय कुमार झाले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रम चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।