प्रवास
रास्वपा अष्ट्रेलियाको संयोजकमा चितवनका डा.कृष्णकान्त, सचिवमा गणेश
सिडनी, पुस ९–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास सम्पर्क विभाग अन्तर्गत अष्ट्रेलियाको संयोजकमा चितवनमा डा.कृष्णकान्त पौडेल चयन भएका छन् । भर्चुअल माध्यम (जुम) बाट सम्पन्न प्रथम केन्द्रीय अधिवेशनले पौडेलको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । पौडेल चितवन क्षेत्र नं.३ निवासी हुन् ।
नव निर्वाचित समितिमा उपसंयोजकमा निराजन थापा, सचिवमा गणेश पौडेल र कमल तिमिल्सिना कोषाध्यक्ष रहेका छन्। सचिव पौडेल पनि चितवनबासी हुन् । उनी पूर्वीचितवन समेटिएको निर्वाचन क्षेत्र नं.१ का बासिन्दा हुन् ।
यस्तै समितिको सदस्यहरूमा अमुल रेग्मी, अनु पाण्डे, गोपी कुमार थापा, विश्वास भट्टराई, दत्त मल्ल, सुमित रत्न बज्राचार्य, र शम्भु पुरी चयन भएका छन्। नयाँ समितिले प्रवासी नेपालीहरूलाई संगठित गरी राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
अधिवेशनमा रास्वपाका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डिपी अर्याल, केन्द्रीय सदस्य तथा सांसदहरू डा. तोसिमा कार्की र शिशिर खनाल तथा प्रवास सम्पर्क विभागका सचिव पदमराज पन्थीको उपस्थिति थियो ।
यस्तै न्यु साउथ वेल्स राज्यका लागि दिबेन्द्र उप्रेतीको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ। त्यस्तै, दक्षिण अष्ट्रेलियामा सुमित बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ। निकट भविष्यमा अन्य राज्यहरूमा पनि समितिहरू गठन गर्ने योजना रहेको केन्द्रीय समितिले जनाएको छ।
नवगठित समितिका सचिव गणेश पौडेलले भने, “प्रवासी नेपालीहरूको क्षमता र योगदानलाई राष्ट्रिय समृद्धिका लागि सदुपयोग गर्न यो समिति सक्रिय रहनेछ। हाम्रो प्राथमिकता प्रवासी नेपालीहरूलाई संगठित गर्दै नेपालप्रति उनीहरूको योगदानलाई सशक्त बनाउनु हो।”
उनले नवगठित समितिलाई विश्वास र समर्थन प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्दै समितिले अग्रगामी सोचसहित प्रवासी नेपालीहरूको आवाजलाई संस्थागत गर्ने प्रतिवद्धता व्यक्त गरे।