चितवन विशेष
चितवन राइनोजले प्रहार गरेको बाउण्ड्री र विकेटको आधारमा रोटरयाक्टले बिरुवा रोप्ने
चितवन, पुस ६ –
नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा चितवन राइनोजले प्रहार गरेको बाउण्ड्री र लिएको विकेटको आधारमा २७२ वटा बिरुवा रोपिने भएको छ ।
रोटरयाक्ट क्लब अफ नारायणगढले इन्टरएक्ट क्लब अफ वाल्मीकी र इन्टरएक्ट क्लब अफ नारायणगढसँग सहकार्य गर्दै हरियाली अभियानको नयाँ अध्यायको रुपमा २७२ वटा बिरुवा रोप्ने घोषणा गरेको हो ।
क्लबका अध्यक्ष रोटरयाक्टर कुशल लामिछानेले यो परियोजनाले खेलप्रेमी युवालाई वृक्षारोपणको महत्त्व बुझ्न र वातावरण संरक्षणमा सक्रियतापूर्वक सहभागी हुन प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । हरियाली अभियान अन्तर्गत, चितवन राइनोजले बनाएका प्रत्येक बाउन्ड्री र लिएका प्रत्येक विकेटको आधारमा १९२ बिरुवा रोपिने छ भने एनपीएलका अन्य ८ टोलीहरूको मेहनत र योगदानको कदरस्वरूप प्रत्येक टोलीका लागि १० बिरुवा गरी थप ८० बिरुवा रोपिने क्लवका अध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार समग्रमा, यो पहलले २७२ बिरुवा रोप्ने लक्ष्य राखेको छ।
रोटरयाक्ट क्लब अफ नारायणगढको यो अभियानले खेल र वातावरण संरक्षणबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखेको छ। हरियाली अभियानले युवालाई खेलसँगै वातावरणीय जिम्मेवारीबोधको मार्गतर्फ डोर्याउने अपेक्षा गरिएको छ।