Breaking News

भरतपुर अस्पतालमा सय शैया थप हुँदै, साढे ५० करोडको भौतिक संरचना धमाधम निर्माण

Banner

चितवन, पुस २-

चितवनको भरतपुर अस्पतालले सेवा सुविधा विस्तारका लागि भौतिक संरचना निर्माणलाई तीव्रता दिएको छ। सरुवा रोग, ट्रमा सेन्टर, मुटु रोग, नर्सिङ लगायतका सेवाहरूको विस्तारका लागि अस्पतालमा साढे ५० करोड रुपैयाँ बराबरका भौतिक संरचना बनिरहेका छन्।

अस्पतालका अनुसार निर्माणाधीन भौतिक संरचना एक वर्षभित्र समापन्न हुनेछन्। भवन निर्माण समापन्न भएपछि अस्पतालभित्र सय शय्या थप हुनेछ। २८ करोडको लगानीमा निर्माण भइरहेको सरुवा रोग अस्पताल यही चैत्र महिनाभित्र सम्पन्न हुनेछ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एक प्रदेश एक सरुवा रोग अस्पताल अन्तर्गत बागमती प्रदेशको योजना भरतपुर अस्पतालको मातहतमा बन्न लागेको हो।

दुई वर्षमा सक्नेगरी निर्माण भएको आयोजनाको पहिलो म्याद गत आर्थिक वर्ष सकिएको थियो। दोस्रो पटक थपिएको म्याद चैत्रसम्म छ। यसभन्दा अगाडि समयमा सरकारबाट रकम भुक्तानी नहुँदा काममा ढिलाइ भएपनि यस पटक थपिएको समयमै काम समापन्न हुने प्रा.डा पौडेलले बताए।

निर्माण भइरहेको चार तले भवनमा ५० शय्या सहितको सरुवा रोगका सेवा सञ्चालन हुनेछ। सरकारले कोरोना महामारीपछि प्रत्येक प्रदेशमा सरुवा रोगको उपचारका लागि अस्पताल बनाउने नीति ल्याएको थियो। सोही नीति अनुसार यहाँ सरुवा रोगको सेवा दिने गरी अस्पताल बन्न लागेको हो।

तर, सरकारले अस्पताल व्यवस्थापनका लागि जनशक्तिको व्यवस्थापन गरेको छैन। जनशक्ति नदिएको अवस्थामा अस्पताल व्यवस्थापन समितिबाट कर्मचारी थप गरेर सेवा सञ्चालन गर्ने तयारी गरेको मेसु पौडेलले बताए।

भरतपुर अस्पताल भित्रै ५० शय्याको ट्रमा सेन्टर सञ्चालन गर्न भवन निर्माणको काम भइरहेको छ। १६ करोडको लगानीमा बन्न लागेको यस भवन ढिलोमा असारमा सम्पन्न हुने उनले बताए।

‘हामी काठमाण्डौंमा जस्तै भरतपुर अस्पतालको आफ्नै प्रयासमा यहाँ पनि ट्रमा सेन्टर बनाउन लागेका छौँ,’ उनले भने ‘यो सेवा असारभित्र सञ्चालन गर्नेगरी तयारी गरेका छौँ।’ चितवन सवारी दुर्घटना हुने प्रमुख जिल्लामा पर्दछ। जसका कारण यहाँ बिरामीहरूको चाप बढी रहेको उनले बताए। ट्रमा सेन्टर १८ महिनाको परियोजना हो।

अस्पतालले मुटु रोगका लागि क्याथल्याव समेत सञ्चालन गर्दैछ। यसका लागि तीन करोड रुपैयाँमा भौतिक संरचना बनिरहेका छन्। नर्सिङ सेवा सञ्चालन गर्नका लागि भौतिक संरचना थप गर्न लागिएको छ। अस्पतालकै ‘ए’ ब्लकको भवनमा तला थप हुँदैछ। यसका लागि डेढ करोड रुपैयाँमा ठेक्का दिइएको मेसु पौडेलले बताए। यस्तै पेङ ओपिडी सेवा बन्द हुनेछ। यो दुई करोडको आयोजना हो।

भरतपुर अस्पतालमा ‘ए’, ‘बि’, ‘सी’ र एन एक्स ब्लक छन्। यी भवनमा ६ सय शय्या छ। अव एक सय शय्या थप भएपछि सात सय शय्या पुग्ने छ। यहाँ दैनिक दुई हजारको हाराहारीमा बिरामी सेवा लिन आउने गर्दछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>