चितवन विशेष
ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा चितवन राइनोजमा
चितवन,कात्तिक ३०-
ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका छन् । उनलाई चितवन राइनोजले अनुबन्धित गरेको हो । राइनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोपारालाई अनुबन्ध गरिएको जानकारी गराएको छ । उनले कुशल मल्लको कप्तानीमा खेल्नेछन् ।
३९ वर्षीय बोपारा विगतमा ईंग्ल्यान्डको राष्ट्रिय टीमका नियमित सदस्य थिए । उनी ओपनिङ तथा मध्यक्रममा ब्याटिङ गर्छन् भने मिडियम पेस बलिङ गर्छन् । उनले विश्वभरका अनेकौँ लिग क्रिकेटहरू खेल्दै आएका छन् । हालै हङकङमा आयोजना भएको हङकङ सिक्सेसमा उनले ईंग्ल्यान्डको टिमबाट खेलेका थिए । नेपालविरुद्धको खेलमा पनि उनी ईंग्ल्यान्ड टीममा थिए ।
बोपाराले ईंग्ल्यान्डको राष्ट्रिय टीमबाट १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले टेस्टमा तीन शतक र एकदिवसीयमा एक शतक प्रहार गरेका छन् ।