चितवन विशेष
ग्यालेक्सी गार्डेन रिसोर्टमा बुद्धि सुवेदीको नेतृत्व
चितवन, कार्तिक १२–
ग्यालेक्सी गार्डेन रिसोर्टको नेतृत्व एनआरएनए अभियन्ता बुद्धि सागर सुवेदीले लिएका छन् । भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा रहेको रिसोर्टको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा करिब साँढे दुई दशक लामो ब्यवसायीक अनुभव भएका सुवेदीलाई विश्वास गरेर लगानीकर्ताले जिम्मेवारी सुम्पेका हुन् । अमेरिकाका मुख्य शहर र नेपालमा पाँच तारे होटल संचालन गरेका सुवेदीले आफ्नो गृहजिल्ला चितवनमा फरक गर्ने लक्ष्यका साथ जिम्मेवारी लिएका हुन्। पर्यटनको हब बन्दै गएको चितवनको भरतपुरमा केही फरक योजनासहित आफु लागेको सुवेदीले बताए । सुवेदी भरतपुरको वैदिकनगरमा बसोबास गर्छन् । उनको पुरानो थलो माडी हो । सुवेदी एनआरएनए अमेरिकाका निवर्तमानअध्यक्ष हुन् ।
रिसोर्टको उपाध्यक्षमा पुराना होटल ब्यवसायी इमान्दु बराल चयन भएका छन् भने प्रवन्ध निर्देशकको जिम्मेवारी पुनः युवा ब्यवसायी नविन कंडेललाई दिइएको छ । त्यस्तै कम्पनी सचिवमा लेखनाथ सापकोटा, इन्द्रराज गैरे र देवनारायण भुषाल रहेका छन् । भुषाल पनि अमेरिकामा लामो समयेदेखी ब्यवसाय गर्दै आएका छन् ।
भरतपुरको चौविसकोठीबाट करिब तीन किलोमिटर पश्चिम रहेको ग्यालेक्सी रिसोर्टमा चितवनमै सबैभन्दा धेरै तीन हजार जना अट्ने क्षमताको सभाहल रहेको छ । रिसोर्टमा पाँच वटा हलमा एकै साथ कार्यक्रम गर्न मिल्ने गरी निर्माण गरिएको्े प्रवन्ध निर्देशक कंडेलले बताए । चितवनमा विभिन्न पेशा ब्यवसायमा अनभुव संगालेका ४६ जना ब्यवसायीको संलग्नतामा ६० करोडको लागतमा रिसोर्ट निर्माण भएको हो ।
रिसोर्टमा सुविधा सम्पन्न २५ कोठा रहेका छन् । एकवर्षको अवधिमा अन्तराष्ट्रिय सम्मेलनसहित विभिन्न सांगीतिक कार्यक्रम, राजनैतिक दलको सभा सम्मेलन भएको रिसोर्टले जनाएको छ ।