चितवन विशेष

भजुमनराम महतोको ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक

Banner

चितवन, कार्तिक १०–

थारु कल्याणकारिणी सभा चितवनले ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक गरेको छ ।

थारु अगुवा भजुमनराम महतोद्धारा लिखित उक्त पुस्तक आज (शनिबार) एक कार्यक्रमकाबीच चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले विमोचन गर्नुभयो । स्वर्गीय श्रीमती लछुमिनिया महतो थारुको स्मृतिको दिन पारेर आज पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा थारु जातिको ऐतिहासिक पृष्ठभूमि, थारु जातिको बसोबास, पहिरन र पेशा व्यवसाय, थारु जातिका परम्परागत कामहरु, मूल संस्कृति र संस्कार, परम्परागत संस्कृति र नाचगानलगायतका महत्वपूर्ण विषयहरु समेटिएका छन् । पुस्तकका लेखक भजुमनराम महतोले थारु जातिको संस्कृति, संस्कारहरु पछिल्लो समय हराउँदै गएकाले पुस्तकको माध्यमबाट जर्गेना गर्न खोजिएको बताए । उनले यस पुस्तकमा समग्र नेपालका सबै थारु जातिको अवस्था उल्लेख गरिएको बताए ।

कार्यक्रममा बोल्दै समालोक डीआर पोखरेलले यो पुस्तक थारु समुदायका लागि महत्वपूर्ण दस्तावेज बनेको बताए । उनले यस पुस्तकलाई सबैले अपनत्व हुने गरी बनाउन आवश्यक रहेकोमा जोड दिए । थारु पत्रकार संघका कोषाध्यक्ष कारी महतोले यस पुस्तकमा थारु समुदायको सबै विषय समेट्न सफल भएको बताए । पुस्तकको मूल्य ३०१ रुपैयाँ राखिएको छ ।

थारु कल्याणकारिणी सभाले यस पुस्तक विक्रीबाट पुस्तकालय निर्माणको अभियान समेत चलाएको अध्यक्ष ललित कुमार चौधरीले जानकारी दिए । भरतपुर–१४ बरौजी निवासी लेखक महतोका कवितासंग्रह दिउवा, थारु समाजका अग्रज पुर्खाहरु, हजार यगुवालगायत आधा दर्जन बढी पुस्तकहरु प्रकाशित छन् ।

पुस्तक विमोचन कार्यक्रम थारु कल्याणकारिण सभा चितवनको आयोजना र थारु लेखक संघको सह–आयोजनामा गरिएको हो ।
कार्यक्रममा लेखकका छोरा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्व प्रमुख मणिराज महतो, थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष विश्राम महतो, टिकेन्द्र चौधरी, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>