कृषि

चितवनमा सावित्री र मुकाबिला धानमा दाना नलागेपछि किसान चिन्तित

Banner

बसन्त ढुंगाना
चितवन, कात्तिक १-

धानको बालामा दाना नलागेपछि चितवनका किसान चिन्तित बनेका छन्। राम्रो उत्पादन हुने आसमा सावित्री र मुकाबिला जातका धान लगाएका किसान बालामा दाना नलागेपछि चिन्तित बनेका हुन्।

पूर्वी चितवनमा सावित्री र पश्चिम चितवनमा मुकाबिला जातको धानका बालामा दाना नलागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जनाएको छ । मुकाबिला जातको धान पश्चिम चितवनका किसानले पहिलोपटक लगाएका हुन्। यो जातको धान खेतीका लागि नेपाल सरकारले सिफारिस नगरे पनि किसानले बढी फल्ने आशामा लगाएका हुन्। सावित्री धान भने किसानले पहिलादेखि रोप्दै आएका छन्।

यो समाचार नागरिक दैनिकमा छ, भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका रामबहादुर बोटेले राम्रो उत्पादन हुने आसमा १३ कट्ठामा मुकाबिला जातको धान रोपेका छन्। उनका अनुसार पसाउने बेलासम्म बाला राम्रै देखिएको तर काट्ने बेलामा दाना लागेको छैन।

‘एक ठाउँमा १० र अर्को ठाउँमा तीन कट्ठामा मुकाबिला जातको नयाँ धान रोपेका थियौं,’ उनले भने, ‘काट्ने बेलामा त बालामा दाना नै छैन।’ उनले नजिकैको एग्रोभेटबाट धानको बिउ ल्याएर रोपेका थिए।

बोटेको मात्र होइन, सोही ठाउँका विजय घलेले पनि मुकाबिला जातको धानको बालामा दाना नलागेको बताए। राम्रो उत्पादन गर्ने लक्ष्यका साथ लगाएको नयाँ जातको धानको बालामा दाना नलागेपछि आफू चिन्तित भएको उनले बताए। ‘मैले १० कट्ठामा लगाएको मुकाबिला जातको धानको बालामा दाना लागेको छैन,’ उनले भने, ‘पश्चिम चितवनमा मुकाबिला जातको धानको बालामा दाना लागेको छैन। यो सबैको समस्या हो।’

बाली काट्ने बेलामा बालामा दाना नदेखिएपछि कृषि प्राविधिकलाई समेत देखाएको तर समस्या समाधान हुन नसकेको उनले बताए। ‘देखिने रोग केही छैन। बाला राम्रै देखिन्छन्’, उनले भने, ‘छाम्दा दाना छैन।’

मुकाबिला जातको धानमा दाना नलागेपछि यसलाई काटेर अन्य बाली लगाउने तयारीमा उनी छन्। जीविकाको मुख्य स्रोत रहेको धानमा दाना नलागेपछि आफूहरू जस्ता साना किसान समस्यामा परेको उनले बताए।

धानखेत पहेंलो देखिन थालेको छ। टाढाबाट हेर्दा जो कोहीलाई पनि धान राम्रोसँग पाकेको जस्तो लाग्छ। तर नजिकै पुगेर हेर्दा भने बालामा दाना नै देखिँदैन। विशेषगरी पूर्वी चितवनका कुमरोज, कठारमा साबित्री र सावा मन्सुली तथा पश्चिम चितवनमा मुकाबिला जातको धानको बालामा दाना नलागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>