Breaking News
काठमाडौं उपत्यका सहित १४ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिने
काठमाडौँ, असोज १८-
सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले बाढी, पहिरो, र डुबानबाट अत्यधिक प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माण कार्यलाई तीव्रता दिनका लागि सो निर्णय गरेको हो।
बैठकको अध्यक्षता गृहमन्त्री रमेश लेखकले गरेका थिए। प्राधिकरणका सहसचिव वसन्त अधिकारीले सोबारे जानकारी दिँदै प्रभावित जिल्लाहरूलाई स्थानीय तहको समेत किटानी गरेर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने बताए। सहसचिव अधिकारीका अनुसार ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, र धादिङ गरी १४ जिल्लालाई बढी प्रभावित ठहर गरिएको छ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले अति प्रभावित क्षेत्र पहिचान गरी संकटग्रस्त घोषणा गर्न लागेको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा २३९ जनाको मृत्यु भएको, १६९ जना घाइते भएका, र १८ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ। त्यस्तै, १७,१२० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ।