समाचार
यस वर्ष संविधान दिवसमा कैदी नछाडिने

काठमाडौं, असोज २-
संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । हरेक वर्ष चारपटक कैदीलाई माफी मिनाहा गरी रिहा गर्दा संविधान दिवसमा पनि छाडिँदै आएको थियो। तर कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।
गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए । ‘कैदी बन्दीको विवरण हामीले दुई पटक मन्त्रालयमा पठाइसकेका छौं । तर गृहबाट निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि छुट्ने सम्भावना छैन’, उनले भने ।
९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । ।
दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ ।
























