खेलकुद
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरी

काठमाडौं, भदौ २९–
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गर्ने तय भएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए । १० हजार दर्शक बस्ने क्षमताको रङ्गशाला रहेको बताइएको छ ।
‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ,’– मन्त्री चौधरीले भने ।
रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए ।
मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले सुनाए ।
‘खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न, खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरुले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’– उनले भने ।
साथै, मन्त्री चौधरीले मुलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उनले बताए ।
वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपुर रङ्गशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उनले बताए । सो काम ३ सय दिनमा पूरा गर्न सम्भव नदेखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको पनि उनले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रङ्गशाला बनाउने, जसमा दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माणलगायतका आवश्यक संरचना ३ सय दिनभित्र निर्माण गर्ने निर्णय गरेको थियो ।
‘यो सरकार आइसकेपछि पहिलो क्याविनेटको बैठकबाट कीर्तिपुर रङ्गशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय भएको छ । त्यसमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले छलफल गरेर २० करोड रुपैयाँ छुट्याइएको थियो । डीपीआर बनाउने, त्यसको मास्टर प्लानिङ जति तयारी भएको थियो खेलकुदबाट त्यसलाई हामीले सहकारी विकास मन्त्रालयमा ह्यान्डओभर गरेका छौं ।’
उनले भने, ‘३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौं । उहाँहरु कामको नजिक–नजिकमा हुनुहुन्छ । टेन्डर गर्नै बाँकी छ । तीन पटकमा काम गर्नुपर्ने शर्तमा टेन्डर हुँदैछ ।’
























