Breaking News
चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

चितवन, भदौ २९-
हुलाकी राजमार्गको चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र राजमार्गको हालको रेखांकन संशोधन गर्न मन्त्रीपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको छ । भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले भरतपुर-माडी-ठोरी सडकखण्डमा पर्ने निकुञ्जभित्रको बाटोको रेखांकन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
लामो समयदेखि यही विषयलाई लिएर पूर्व वनमन्त्री एवम् चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डे, यहाँका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका राजनीतिक दल तथा अभियन्ताहरुले दवाब दिँदै आइरहेका थिए । अन्ततः तेस्रोपटकको प्रयासपछि भरतपुर–माडी–ठोरी सडकको रेखांकन संशाधेन प्रस्ताव सरकारले स्वीकृत गरेको सांसद पाण्डेका स्वकिय सचिव राजु भण्डारीले जानकारी दिए । उनका अनुसार यसअघि दुई पटक पेश गरेको प्रस्ताव मन्त्रीपरिषद्ले फिर्ता पठाएको थियो ।
मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै हाल सञ्चालनमा रहेको माडी नगरपालिका–९ बगईदेखि अमुवा हुँदै ठोरी सडक (१५.३ किमी)को विकल्पमा निकुन्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुम खोला हुँदै ठोरी (करिब १६.५ किमी) र रिउ–राप्ती खण्डमा कसरा पुलदेखि ध्रुवघाट देउराली बनकट्टासम्म (१०.३ किमी)को विकल्पमा रिउ खोला (बनकट्टा)देखि ध्रुवघाटहुँदै राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक (करिब ७.३ किमी) खण्डको वैकल्पिक सडक निर्माण गर्न बाटो खुलेको छ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रतिवेदनअनुसार वैकल्पिक सडकको सम्भाव्यता अध्ययन हुँदा निकुञ्जको उक्त क्षेत्रको जैविक विविधतामा कम नकारात्मक प्रभाव पर्ने देखिन्छ । हालको सडक रेखांकन संशोधन हुँदा सरकारलाई भविष्यमा थप आर्थिक व्ययभार नपर्ने सडक विभागले बताएको छ ।























