Breaking News

रवि लामिछानेले राजीनामा दिनुपर्छ, सहकारी ठगी र पासपोर्टबारे पार्टीभित्र अनुसन्धान होस्ः मुकुल ढकाल

Banner

काठमाडौं,साउन ३१-

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने दोहोर्‍याएका छन्। बुधबार ढकाललाई रास्वपाले स्पष्टीकरण पेश माग गरेपछि सभापति लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको दाबी गर्दै बिहीबार पत्र पठाएका हुन्।

ढकालले नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको बिउ लामिछानेका कारणले नाश हुँदै गएकाले राजीनामा दिनुपर्ने माग गरेका छन्। ‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ। नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ। पार्टी जोगाउने मौका दिनुहोस् ।’उनले भनेका छन्,‘ वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस्। पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु। तपाईँले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस्।’

‘…तपाईँ रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईँ रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ ।’ ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाइँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्। तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ। नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु ।’

सहकारी ठगी मुद्दामा तपाइँमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भन्दै ढकालले प्रश्न गरेका छन्। उनले सर्वोच्च अदालतको संयुक्त इजलासले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेकाले फैसला मान्ने कि नमान्ने ? पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? भन्दै प्रश्न गरेका छन्।

‘सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ। म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ ।’ ढकालले स्पष्टीकरण पत्रका भनेका छन्, ‘सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ। छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?’

उनले लामिछानेले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिएको र आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गरेको उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>