समाचार

मासिक ७० हजार कमाई हुने भन्दै प्रलोभन देखाई मानब बेचबिखन गरेको आरोपमा एकजना पक्राउ

Banner

काठमाडौं, साउन २९-

मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट मानब बेचबिखन गरेको आरोपमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो । एसपी गौतम मिश्रका अनुसार उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।

महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए।

ती महिला २०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगिन्। विमानस्थलमा मौरिसियन पुरूषले त्यही क्यापको आधारमा चिनेर लिन आएका थिए। मौरिसियन नागरिकसँग गएपछि उनी मानब बेचबिखनमा परेको खुलेको हो।

ती मौरिसियन नागरिकले पीडित महिलालाई आफूले बुद्धिराज न्यौपानेबाट खरिद गरेको बताएका थिए। त्यसपछि ती महिलालाई दैनिक १७-१८ घण्टा काम गर्न लगाएको, समयमा खाना खान र तलब समेत नदिई श्रम र यौन शोषण गरेको खुलेको हो। केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्।

त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>