Breaking News
नारायणी किनारमा बाघदेखि बिच्किएका दुई हात्ती माउतेको नियन्त्रण बाहिर
चितवन,साउन २०-
नारायणगढ नजिक नारायणी नदी किनारमा बाघ नियन्त्रणमा लिने क्रममा बाघदेखि डराएर बिच्किएका दुई वटा हात्ती माउतेको नियन्त्रण बाहिर गएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज साँझदेखि बाघसग तर्सिएर छुट्टा छुट्टै दिशातर्फ लागेका छन् । बाघ नियन्त्रणमा लिन ल्याइएका हात्तिहरु मध्ये एक हात्ति बिच्किएर रामपुर क्रस भएको र अर्को भरतपुर महानगरपालिका ३ स्थित बाह्रघरेमा साँझ देखा परेको प्रहरीले बताएको छ । तर, अहिले दुवै हात्ती कतै पनि देखा नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । हात्ती माउतेको नियन्त्रण बाहिर रहेकाले सर्तक हुन प्रहरीले आग्रह गरेको छ ।
आइतबार बिहान एक व्यक्तीलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ अझै नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको छ । बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकको टोली १२ बजेदेखि खटिएको छ ।
बाघले आइतबार बिहान साढे ५ बजे तिर नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन तीनवटा हात्ती आए पनि बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका छन् । अहिले हात्ती भागेपछि सौराहाबाट थप दुई हात्ती ल्याइएको प्रहरीले जानकारी दिएको छ ।