Breaking News
क्यान्सर अस्पतालमा प्रयोगशालाको नतिजा लिन लाइन बस्नुपर्ने बाध्यता हट्यो

चितवन, साउन १८-
बिरामी र बिरामीका आफन्तले अस्पतालको प्रयोगशालाको नतिजा लिन लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी, कुरुवा तथा आफन्तलाई नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा प्रयोगशाला रिपोर्ट दिने स्वचालित मेसिन जडान भएपछि लामो लाइनमा बसेर रिपोर्ट लिनुपर्ने बाध्यता हटेको बताउनुभयो । मेसिनमा रहेको ‘क्युआर स्क्यानर’मा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट भएर आउने उहाँले जानकारी दिनुभयो ।
यसअघि अस्पतालमा बिहान रगत जाँच गर्न दिएपछि दिउँसो २ बजे पछि प्रयोगशालाको रिपोर्ट दिइँदै आइएको थियो । यसअघि रिर्पोट लिन लामो लाइन बस्नुपर्नेमा अहिले स्वचालित मेसिनबाट सहज सेवा प्रवाह भइरहेको सेवाग्राही बताउँछन् ।
“अब बिलमा भएको बारकोड स्क्यान गरेपछि तयार भएको रिपोर्ट आफैँले प्रिन्ट निकालेर सहज रुपमा लिन सकिन्छ । प्रयोगशाको रिपोर्ट ढिलो आउने, लाइन बस्नुपर्ने बिरामीको गुनासो अन्त्य भएको छ”, कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो । दैनिक नौ सयको हाराहारी नयाँ बिरामीले सेवा लिने गरेको भन्दै उहाँले प्रयोगशालामा तीन सय ५० को हाराहारीमा रगत जाँच हुने गरेको जानकारी दिनुभयो ।
यहाँ नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । किमो र रेडिएसन दिनुपर्ने बिरामीले प्रत्येक पटक चिकित्सकलाई देखाउन आउँदा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा अत्यधिक घुइँचो हुन थालेपछि अस्पतालले स्वचालित मेसिन जडान गरेको हो ।
























