Breaking News
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक र लाइफ ब्वाई टयुव काभ्रेघाटमा भेटियो

चितवन, साउन १४–
चितवनको भरतपुर–२९ सिमलतालस्थित त्रिशुली नदीमा हराई रहेका दुई वटा बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको १९ केजीको चुम्बक र लाइफ ब्वाई ट्युव दुई दिन पछि फेला परेको छ ।
आज विहान काभ्रेघाटमा संचालनमा रहने ज्ञानेश्वर मोटरबोटका चालकले भंगेरीथानको टापुबाट चुम्बक र लाइफ ब्वाई ट्युव फेला परेको शसस्त्र प्रहरी नायव उपरीक्षक मनोज गुरुङले जानकारी दिए । उक्त चुम्बक र अन्य सामग्री चितवन प्रशासनलाई बुझाईने छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भेटिएको चुम्बकसहितको सामग्री भारत पठाइने बताए । भारतीय टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल सिमताल क्षेत्रमा खोजी गर्ने क्रममा शनिबार दिउँसो चुम्बक र लाइफ ब्वाई ट्युव त्रिशुली नदीले बगाएको थियो ।
सो दिन अर्को १४ केजीको चुम्बकले पनि खोजी गरिएको थियो । चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला नपरेपछि भारतीय विज्ञसहितको प्राविधिक टोली आइतबार नै स्वदेश फर्किएको छ । तर खोजी कार्य भने निरन्तर जारी रहने चितवन प्रशासनले जनाएको छ । आजबाट मृतक तथा बेपत्ता परिवारलाई राहतका लागि क्षतिपुर्तीका लागि आवश्यक कागजात प्रक्रियाको काम चितवन प्रशासनले गर्दैछ ।
गत असार २८ गते विहान ३ः३० बजेको समयमा लेदोसहित आएको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई त्रिशुली नदीमा खसालेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । जसमध्ये ३ जना हामफालेर बाच्न सफल भएका थिए । उनीहरुकै बयानको आधारमा बस खसेको पुष्टि भएको थियो ।
घटनास्थलमा बस दुर्घटनाको कुनै संकेत मिलेको थिएन । दुर्घटनामा परेर हालसम्म १९ जनाको शवको सनाखत भएको छ । दुर्घटनालगत्तै शसस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोनार क्यामेरा, मोटरबोट, पाइप इन्सपेक्सन, ड्रोनलगायतको उपकरणसंगै पैदल खोजी गरेको थियो ।
























