चितवन विशेष
मेघौलीको थारु सामुदायिक होमस्टे : मौलिक संस्कृति र परिकारको सम्मिश्रण

निरुता विक
चितवन, साउन १४-
चितवनको भरतपुर महानगरपालिका–२७ मेघौलीका बेदकुमार महतो होमस्टे (घरबास)मा आउने पाहुनाको स्वागत सत्कारमा व्यस्त छन् । वैदेशिक रोजगारीका क्रममा ७ वर्ष मलेसियामा बिताएका महतो घर फर्किएर गाउँमा होमस्टे सञ्चालन गर्दै आएका छन् । होमस्टेमा आउने पाहुनालाई स्वागत/सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उनको समय बित्ने गरेको छ ।
२०७५ सालमा एउटा भान्साको रुपमा ‘थारू सामुदायिक होमस्टे’ सञ्चालन भएपछि वेदकुमारसहित अन्य छ जनाको दैनिकी फेरियो । शुरुवाती चरणमा पाहुना नआएपनि सञ्चालन गरिएको केही वर्षमै होमस्टेमा पाहुना आकर्षित हुन थालेका होमस्टे सञ्चालक महतो बताउँछन् ।
उनले भने, ‘होमस्टे सञ्चालन गरेको सुरुवाती दिनमा पाहुना बस्नको लागि व्यवस्थित कोठा थिएन । साँघुरो कोठा खडाइले बार लगाएर पाहुनालाई राख्नुपर्ने बाध्यता थियो ।
समय परिर्वतन भएसँगै अहिले कंक्रिटको ब्लक लगाएर कोठा बनाई माटोले पोतेर चिटिक्क पारिएको छ ।’ उद्योग वाणिज्य संघ चितवनले होमस्टेको प्रचारप्रसारमा सहयोग पुर्याएसँगै २०७८ सालमा होमस्टेको पुनःस्थापना हुन पुगेको उनी स्मरण गर्छन् । त्यसपछि होमस्टेमा आउने पाहुनालाई भिजिटिङ कार्ड दिन थालिएको उनले बताए ।
यस ठाउँमा सात वटा होमस्टे छन् । जहाँ एक पटकमा ६० जना पाहुनालाई व्यवस्थापन गर्न सकिन्छ । महतोको होमस्टेमा पाँच वटा कोठा छन् । जहाँ १५ जनाको क्षमता रहेको छ । यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइएको छ । अहिले दैनिक चार देखि पाँच वटा होमस्टे पर्यटकले भरिन्छन् । सार्वजनिक बिदाको दिन सात वटै होमस्टे भरिभराउ हुने गरेको उनको भनाई छ ।
उनले होमस्टे सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ लगानी गरेका छन् । हाल मासिक १५ देखि २० हजार रुपैयाँसम्म नाफा हुने उनी बताउँछन् । होमस्टेबाट हुने आम्दानीले उनी सन्तुष्ट छन् । उनको होमस्टेमा स्वदेशीसहित विदेशी पाहुना आउने गर्छन् । होमस्टेमा आउने पाहुनाले थारू संस्कृति, मौलिक परिकार र स्थानीय वातावरण रुचाएको उनको भनाइ छ । दैनिक आउने पर्यटकलाई मध्ययनजर गर्दै होमस्टे प्याकेज कार्यक्रम सञ्चालन गरिरहेको होमस्टे सञ्चालक महतोले जानकारी दिए ।
‘९०० रुपैयाँको होमस्टे प्याकेज कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यो प्याकेजमा पाँच प्रतिशत छुटसमेत दिएका छौं । एकरात बस्नको लागि ६०० र एउटा खानाको १८० रुपैयाँ लिने गरेका छौँ’, उनले भने । उनले पाहुनालाई मौलिक खाना खुवाउने गरिएको बताए । होमस्टेमा पाहुनालाई घोगी, स्थानीय प्रजातीको हाँसको मासु, कुखुराको मासु, माछा, चिचर, निउरोलगायत परिकार बनाई खुवाइने गरिएको छ । साँझमा सांस्कृतिक नाचगानसमेत हुने गर्छ । यसबाट कला, मौलिक संस्कृतीको संरक्षणसँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा महतोले गरेका छन् । सञ्चालक महतोले होमस्टे सञ्चालनका लागि पर्याप्त तालिमको अभाव भएको गुनासो गर्छन् ।
थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले पर्यटन विकास समिति र भरतपुर महानगरपालिकाको सहयोगमा मेघौलीमा थारु होमस्टे सञ्चालन गरिएको बताए । पाँच वटा घरबाट सुरु भएको होमस्टे अहिले सात वटा घरमा सञ्चालन भएको अध्यक्ष महतो बताउँछन् । सुरुवाती दिनमा निकै कठिनाई झेल्नुपरेको उनी बताउँछन् ।
अध्यक्ष महतोले भने, ‘होमस्टे सञ्चालन गर्दा सुरुवाती दिनमा निकै कठिनाई झेल्नुपर्यो । बाटोको असहजता, खानेपानीको समस्या, बस्ने घरको व्यवस्थापनमा समस्या लगायत कहिकतैबाट सहयोग नमिल्दा निकै नै तनाव उत्पन्न हुन गयो ।’ विगतमा जतिनै समस्या झेल्नुपरेपनि पछिल्लो केही वर्षयता पर्यटकको संख्या बढ्नुका साथै आम्दानी पनि राम्रै भएको उनको भनाई छ । यहाँ काठमाडौँ, पोखरा, बुटवल लगायत विभिन्न देशबाट समेत पर्यटक आउने गर्दछन् ।
अध्यक्ष महतोले युवापुस्ता होमस्टेमा आकर्षित हुन थालेपछि होमस्टे थप व्यवस्थित बन्दै गएको बताउँछन् । उनका अनुसार पश्चिम चितवनको मेघौलीमा घुम्न आउने पर्यटकको मोह थारू सामुदायिक होमस्टेमा देखिएको छ । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत मौलिक संस्कृति, रहनसहन, उत्पादन तथा सेवाका कारण पर्यटकले होमस्टे रोज्न थालेका छन् । खानामा स्थानीयले उत्पादन गरेका अर्गानिक तरकारी र खाद्यान्नहरु प्रयोग हुने गरेको छ ।
यहाँको थारू सामुदायिक होमस्टे थारू संस्कार र संस्कृतिको जीवन्त संग्राहालय बनेको छ । यहाँ आउने पर्यटकले थारू परिकार चिचर, घोँगी, हाँसको मासु लगायतका खानेकुरा खान पाउँछन् भने परम्परागत लठ्ठी नाच (स्टिक डान्स), झम्टा नाच, झुमरा नाच, डम्फु नाच जस्ता मौलिक नृत्य हेर्न पाउँछन् । स्वच्छ र शान्त वातावरणमा अवस्थित होमस्टेमा खानेपानी, शौचालय, बिजुलीबत्ती लगायतको सुविधा छ ।
यहाँ वार्षिक एक हजार ५०० भन्दा बढी पर्यटक आउने गर्दछन् । होमस्टे सञ्चालन भएपछि यहाँको आर्थिक र संस्कृतिमा सकारात्मक परिर्वतन आएको स्थानीय बताउँछन् । जग्गाको अभावका कारण होमस्टेको सामुहिक हल बनाउन नसकिएको अध्यक्ष महतोले बताए । होमस्टे सञ्चालनमा राज्यले पनि चासो र प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।
भरतपुरको चौबीसकोठीबाट २७ किमी पश्चिममा रहेको मेघौली चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ आउने पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको आनन्द लिने गरेको अध्यक्ष महतो बताउँछन् । यहाँ राधा कृष्ण र सदाबहार सामुदायिक वन रहेको छ । होमस्टेमा आएका पाहुनाले यहाँ जङगल सफारी गर्न पाउँछन् । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदीले घेरिएको सुन्दर टापु मेघौलीको प्रकृति र संस्कृतिका विविध छटाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणका केन्द्रबिन्दु हुन् ।