समाचार

राँको बालेर मनाइयो साउने सङ्क्रान्ति

Banner

काठमाण्डौँ, साउन १-
नेपालमा साउने संक्रान्तिमा राँको बालेर मनाउने चलन छ । देशभर आआफनो परम्परा अनुसार लुतो फालेर साउने संक्रान्ति मनाइएको छ । यस्तै कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाइन्छ। यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट, र दैलेखमा राँको बालेर मात्रै नभई एक घरले अर्को घरलाई ‘दिल खोलेर गाली गर्ने’ प्रचलन पनि छ, जुन अत्यन्त रोचक मानिन्छ।

साउने सङ्क्रान्तिको साँझ, असार महिनामा धान रोप्दा लागेको हिलो पखाल्न र छाला रोगबाट बच्न लुतो फाल्ने प्रचलन छ। यस अवसरमा मिठा परिकारहरू खाने चलन पनि रहेको छ। कर्णालीको परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेको राक्षसको पूजा गरिन्छ। बेलुकी अगुल्टो फाल्ने विधि अहिले निकै चर्चित छ, जसलाई लुतो फाल्ने भनिन्छ।

साउने सङ्क्रान्तिको दिन सम्पन्न गरिने लुतो फाल्ने विधि अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने, र ढोका बन्द गर्ने गरिन्छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष रूपमा मनाइन्छ। असार महिनाभर कृषि कर्ममा व्यस्त किसानहरू साउन १ गते आफन्तहरूसँग जम्मा भएर रमाइलो गर्छन्। साउन महिना भगवान् शिवको पूजा गरेर विशेष रूपमा मनाइन्छ।

महिलाहरू हरियो चुरा, कपडा, मेहन्दी लगाएर प्रकृतिसँग नजिक भएको देखाउँछन्। कर्णालीका यी जिल्लामा समाजकाले एक अर्कालाई दिल खोलेर गाली गर्ने चलन पनि छ। यसरी गाली गर्नाले रोग व्याधि लैजाने जनविश्वास छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>