चितवन विशेष
चौध किलोमिटर पक्की कुलो निर्माण

चितवन, असोज १-
बागमती प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा सिँचाइका ११० आयोजना सम्पन्न गरेको छ । सोही आयोजनाअन्तर्गत कार्यालयले सिँचाइका लागि आरसिसी ढलानसहित १४ दशमलव ६० किलोमिटर कुलो निर्माण गरेको हो ।
कार्यालयका प्रमुख प्रकाश तिमल्सिनाका अनुसार गत आर्थिक वर्षमा ७५ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् । यस वर्ष गरिएको आयोजनाहरूबाट थप एक सय हेक्टर क्षेत्रफल सिञ्चित भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नदी नियन्त्रणका लागि ३७ वटा आयोजना, सौर्यरविद्युतीय ऊर्जा जडान सात वटा, स्पर १७ वटा, स्यालो तथा डिप ट्युवेल चार वटा, तटबन्धन पाँच किलोमिटर निर्माण गरिएको छ ।
यस्तै, एउटा सिँचाइ आयोजना मर्मत, कुलोका लागि पाइप लाइनिङ एक दशमलव पाँच किलोमिटर र पर्खाल निर्माण १७ मिटर गरिएको छ भने एउटा लिफ्ट सिँचाइ आयोजना निर्माणका क्रममा रहेको उहाँले जानकारी दिनुभयो । कार्यालयले यस आर्थिक वर्ष २१ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । यस कार्यालयअन्तर्गत निर्माण गरिएका आयोजनाहरूले हालसम्म एक हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ भएको छ । यस कार्यालयले जिल्लाका सबै पालिकामा सिँचाइको काम गर्दै आएको छ ।























