Breaking News
त्रिशूलीमा दुई बस बेपत्ता घटनाः आज बिहानैदेखि खोज्न शुरू गरिने

चितवन,असार २९-
चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिवार) बिहानैदेखि शुरू गरिने भएको छ । दुई बस शुक्रवार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम शुरू गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । बिहानैबाट खोजिए पनि बेपत्ता बस साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए ।
उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
























