खेलकुद
जे भए पनि यो म्याच ‘म्यान अफ दि टुर्नामेन्ट हो’, नेपाल जीतको हकदार थियो

काठमाडौँ, असार १-
दक्षिण अफ्रिका पूर्वफास्ट बलरले नेपालको खुलेर तारिफ गरेका छन् । नेपाल जीतको हकदार भएपनि दक्षिण अफ्रिका भाग्यशाली ठहरियो भन्दै विश्वकपमा कमेन्टेटरको भूमिकामा रहेका पूर्वफास्ट बलर डेल स्टेनले नेपालको खुलेर तारिफ गरेका हुन् ।
उनले नेपालको प्रदर्शनका विषयमा भने, ‘बेजोड खेल भयो । म अन्डरडगको ठूलो फ्यान हुँ । दक्षिण अफ्रिकाको खेल भए पनि मेरो नेपालप्रति सहानुभूति थियो । उनीहरु जीतका हकदार पनि थिए, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन् । यदि नेपालले जितेको भए उनीहरु टक अफ दि टाउन हुने थियो । नेपाल टक अफ दि टुर्नामेन्ट हुन्थ्यो । त्यसपछि बंगलादेशविरुद्ध नेपालको म्याच विस्फोटक हुन सक्थ्यो । मैले मनमनै त्यही चाहेको थिएँ ।’उनले आजको खेललाई ‘म्याच अफ द टुर्नामेन्ट’को संज्ञासमेत दिए ।
स्टेनले थपे, ‘हामीले यहाँ १६० देखि १८० रनसम्मको अपेक्षा गरेका थियौं, तर लो स्कोरिङ खेल भयो । नेपालले उत्कृष्ट बलिङ गर्यो ।
ब्याट्सम्यानहरुलाई गुगलीले अप्ठेरोमा पारिरहेको थियो । खेलको अन्तिम बलमा एक रन लिन सकेको भए खेल सुपर ओभरमा जान सक्थ्यो । जे भए पनि मेरो लागि यो म्यान अफ दि टुर्नामेन्ट हो ।’
आइसिसी टी २० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो।


























