स्वास्थ्य
निजी अस्पतालको अटेरी बढ्योः तोसिमा कार्की

काठमाडौं,जेठ २९-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपन्नको अस्पतालमा छुट्याइएको निःशुल्क १० प्रतिशतको सेवामा मनोमानी भएको बताइएकी छिन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य संस्था सञ्चाललसम्बन्धी मापदण्ड नै प्रभावकारी नहुँदा निजी अस्पतालले उल्टै चर्को मूल्य असुलेको बताएकी हुन् ।
‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत निःशुल्क सेवा दिनुपर्छ भन्ने भन्ने मापदण्ड भए पनि कार्यान्वयन भएको छैन,’ कार्कीले भनिन्, ‘यो व्यवस्था लागू भएको छैन । नियमन फितलो छ । मापदण्ड मन्त्रालयको मापदण्डमा सीमित छ । १० प्रतिशत नदिँदा कारबाही नहुने भन्ने पनि स्पष्ट छैन । कुल शय्याको १० प्रतिशत कि बिरामीको १० प्रतिशत ? बरु शय्या मात्रै निःशुल्क गरेर अस्पतालले अन्य शुल्क चर्को असुलेको पाइन्छ ।’ निजी अस्पतालको अटेरीलाई रोक्न उनले अस्पताल सञ्चालनसम्बन्धी ऐन ल्याउन माग गरिन् । नभए निजी अस्पतालको अटेरी बढ्दै जाने उनको भनाइ छ ।