समाचार
कोशी प्रदेश धार्मिक द्वन्द्वका हिसाबले संवेदनशील ठहर

विराटनगर, जेठ २८-
विराटनगरमा दुई दिनसम्म चलेको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीले प्रदेशमा अझै धार्मिक र जातीय द्वन्द्वका घटना हुनसक्ने निष्कर्ष निकालेको छ ।
गोष्ठीमा धर्म र जातको आधारमा द्वन्द्व बढाउने गतिविधि अझै नरोकिएको विषय उठेको थियो । यस्तै मंगोल अर्गनाइजेसनको गतिविधि, जसपा विभाजनले पार्नसक्ने असर, पहिचानको मुद्दा उठाउनेहरूको गतिविधि जारी रहेको, राजेन्द्र महतोले थालेको अभियान लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको सहभागीले बताएका छन् ।
यस पटकको छलफलमा कोशी प्रदेशमा भारी वर्षाले हुनसक्ने क्षति र विपद् व्यवस्थापनको विषय पनि सामेल थियो । आइतबार राजस्व सचिवको सहभागितामा झापा, मोरङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, भन्सार अधिकारी, राजस्व अनुसन्धान, आन्तरिक राजस्वको टोलीबिच राजस्व चुहावटको विषयमा छलफल भएको थियो । सोमबार भने समग्र प्रदेशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सहभागीले छलफल गरेका थिए ।